समाचारबुधबार, भाद्र २, २०७२
ऐतिहासिक उचाइमा नेप्से
पछिल्लो समयमा निरन्तर उकालो लागेको नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।
सात वर्षअघि १५ भदौ २०६५ नेप्से परिसूचक ११७५ पुगेको थियो । नेप्से आज निरन्तर उकालो लगेर ११९१.९२ बिन्दुमा पुगेर बन्द भएको हो ।
संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेका कारण लगानीकर्ता विश्वस्त भएर पुँजी बजारमा लगानी गरेकाले पनि परिसूचक उच्च बिन्दुमा पुगेको बताइएको छ ।
बजार खुल्दा ११६० मा रहेको नेप्से निरन्तर उकालो लागेको बजार बन्द हुँदासम्म ३१.९९ अङ्कले बढेर इतिहासकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेका अनुसार १३९ कम्पनीका १२ लाख २३ हजार १६ सेयर चार हजार ४९७ पटकको कारोबारबाट रु ६६ करोड ७७ लाख नौ हजार १६७ बराबरको कारोबार भएको हो । यसले २।७६ प्रतिशतको परिवर्तन ल्याएको नेप्सेले जनाएको छ ।
आर्थिक वर्ष सुरु भएको पहिलो चारदेखि छ महिनाको अवधिमा निरन्तर सेयर उकालो लाग्ने गरेको छ । ‘क’ वर्गका कम्पनीका प्रतिनिधित्व गर्ने सेन्सेटिभ इन्डेक्स ७.१७ अङ्कले वृद्धि भएर २५९.९५ बिन्दुमा पुगेको छ । यो २.८४ प्रतिशतको परिवर्तन हो ।
सूचीकृत संस्थाले अन्तिम वित्तीय विवरण सार्वजनिक गर्ने समयमा लगानीकर्ता नाफा कमाउने आशमा पनि सेयरको कारोबार आकर्षित हुने गरेका छन् ।
नेप्सेमा वाणिज्य बैंक समूहको परिसूचकमा ३३.३४ अङ्कले, होटल समूहको परिसूचकमा सबैभन्दा बढी १६६.४७ अङ्कले र विकास बैंक समूहको परिसूचकमा ८.४७ अङ्कले वृद्धि भएको छ ।
त्यसैगरी जलविद्युत् समूहको परिसूचकमा ५.७२ अङ्कले, वित्त समूहको परिसूचकमा ७.१७ अङकले, बिमा समूहको परिसूचकमा ९९.४८ अङ्कले, उत्पादनमूलक समूहको परिसूचकमा २५.९४ र अन्य समूहको परिसूचकमा ५.४१ अङ्कले वृद्धि भएको छ ।
पुँजी बजारमा लगानी कर्तामा आएको विश्वासका कारण बजार उकालो लागेको एक ब्रोकरले प्रतिक्रिया दिनुभयो । नेपाल राष्ट्र बैंकले पुँजी कोष वृद्धि गर्ने नीति लिएपछि बजार निरन्तर उकालो लागेको हो ।
नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीले नेप्सेमा आएको परिवर्तन टिक्न सक्छ की सक्दैन भन्ने विश्लेषण गरेर मात्र सेयरमा लगानी गर्न सुझाव दिए । बजारमा आएको उत्साहका कारण सात वर्षअघि अप्ठ्यारोमा परेका लगानीकर्ताले राहत महसुस गरेको बुझिएको छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेप्सेमा ठूलो परिवर्तन आउनुपर्ने खास कारण नभएको उल्लेख गर्दै सचेतापूर्वक लगानी सुरक्षित गर्नुपर्ने सुझाव दिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
