समाचारबुधबार, भाद्र २, २०७२
‘गरीब किन्न होइन, शहीदको सम्मान गर्न ५० लाख घोषणा गरिएको हो’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई रु.५० लाख दिने मधेशी मोर्चाको निर्णयलाई नकरात्मक रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् ।
मधेशी मोर्चाले २ भदौमा गरेको निर्णयबारे हिमालखबरसँग कुरा गर्दै महतोले भने, “सरकारले आन्दोलन दबाउन खोजिरहेको छ, त्यसैले शहीद हुनेको परिवारलाई रु.५० लाख दिने प्रतिवद्धता गरिएको हो ।”
आन्दोलनका लागि गरीब किन्न यो प्रतिबद्धता नभएको उनले बताए ।
महतोले भने, “आन्दोलनमा लाग्नेहरुको हामीले जिम्मा लिनुपर्छ, मृतक परिवारलाई हेर्नुपर्छ ।” उनले शहीद हुनेहरुको सम्मानका लागि यस्तो प्रतिवद्धता जनाइएको दाबी गरे ।
भोलि बन्ने प्रदेश सरकारले मोर्चाको प्रतिवद्धता कार्यान्वयन गर्ने दाबी गर्दै महतोले भने, “आन्दोलनका क्रममा मृतक परिवारलाई १० लाख दिने निर्णय पनि हामीले नै गरेका थियौं, अझ उच्च सम्मानका लागि ५० लाख पुर्याइएको हो ।”
कुनै लोभलालचका लागि नभई अधिकार प्राप्तिको आन्दोलन भइरहेकाले ५० लाखकै लागि कोही मर्न तयार नहुने उनले बताए । महतोले भने, “गोलीमा कसैको नाम हुँदैन, जसलाई पनि लाग्न सक्छ ।”
सीमाकंनसहितको ६ प्रदेशलाई अस्वीकार गर्दै अनिश्चितकालीन तराई–मधेश बन्दसहित प्रदर्शनमा उत्रिएको मधेशी मोर्चाले २ भदौमा आन्दोलनका क्रममा मृत्यु हुनेका परिवारलाई निशुल्क शिक्षा र रोजगारीको प्रतिवद्धता समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
