थप समाचारबिहीबार, भाद्र ३, २०७२
लगातारको बन्दले मध्यतराईको जनजीवन कष्टकर
६ दिन देखिको बन्दले मध्य तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट मधेशकेन्द्रित दलहरुले आह्वान गरेको अनिश्चितकालीन आम हडतालका कारण पर्सादेखि सप्तरीसम्म तराईको जनजीवन कष्टकर भएको हो ।
गत ३० साउनमा तीन दिने बन्दको आह्वान गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले १ भदौदेखि अनिश्चितकालीन मधेश बन्दको आह्वान गरेपछि ६ दिनदेखि मध्य तराईमा बजार, पसल, शिक्षण संस्थाहरु खुलेका छैनन् ।
यस्तै सडकमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरु समेत गुड्न सकेका छैनन् ।
दैनिक उपभोग्य सामानको पनि अभाव हुन लागेको स्थानीयले बताएका छन् ।
यसैबीच मधेशी मोर्चाका कार्यकर्ताहरु ३ भदौमा पनि बिहानैदेखि सडकमा प्रदर्शन गरिहरेका छन् ।
शहरका विभिन्न स्थानमा बिहानै देखि टायर बालेर सडक अवरुद्ध पारेका आन्दोलनकारीले देशकै प्रमुख भन्सार नाका समेत ठप्प पारेका छन् ।
वीरगञ्ज भन्सार कार्यालय अगाडि टायर बालेर वीरगन्ज रक्सौल नाका र सिसिर्या सुख्खा बन्दरगाह समेत ठप्प पारिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।
उनीहरुले ३ भदौ विहान वीरगञ्जमा दुई वटा गाडी तोडफोड गरेका छन् ।
यसैबीच संघीय माधेसी मोर्चामा आवद्ध दलहरुले पर्साबाट निर्वाचित सभासदहरुको निवास अगाडी बिहिबार नारबाजी गर्दै प्रदर्शन गरेका छन् ।
मोर्चामा आबद्ध नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलको अगुवाइमा रहेका नेता कार्यकर्ताहरुले सभासदहरु राजेन्द्र बहादुर अमात्य , राजकुमार गुप्ता, जय प्रकाश थारु र विचारी यादवको घर अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
आन्दोलनका क्रममा विभिन्न जिल्लामा सभासदहरुको निवासमा समेत आक्रमण हुन थालेपछि सभासदहरुको निवास वरिपरी प्रहरी तैनाथ गरिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज