थप समाचारशनिबार, भाद्र ५, २०७२
सवारी निल्ने सडक
– दीपक ज्ञवाली, बुटवल
बुटवल–पाल्पा सडकमा सिद्धबाबा क्षेत्रको तीन किलोमीटर मृत्युमार्ग छल्ने पाँच वटा विकल्प छन्, तर सबै महँगा।
पाल्पाको तल्लो सिद्धबाबा पहिरोले २० वर्षयता पुरेका यात्रुवाहक बस र मृतक संख्या हो, यो (सूचि दायाँ)। पश्चिम नेपाल बस व्यवसायी संघले राखेको यो विवरणमा मोटरसाइकल, जीप र अन्य सवारी साधनको हिसाब समेटिएको छैन।
तीन किमीको मृत्युमार्ग
सुनौली–पोखरा १८० किलोमीटर सिद्धार्थ राजमार्गको चिडिया खोला―दोभान खण्डको ७ किमी अति जोखिम क्षेत्र हो। त्यसमा पनि तल्लो सिद्धबाबाको तीन किमी खण्ड गुडिरहेका गाडी गायब पार्ने मृत्युमार्ग सावित भएको छ।
२२ साउनको दुर्घटनापछि २७ साउनको संसद् बैठकमा विशेष समय लिएर बोलेका पाल्पा–२ का सभासद् सोमप्रसाद पाण्डेले सरकारको नीति तथा कार्यक्रममा सिद्धबाबामा सुरुङ बनाउने भनिए पनि बजेटमा त्यो नदेखिएको बताउँदै अब आन्दोलन उठाउने चेतावनी दिए।
उनको त्यो भाषामा दिनदिनै जोखिम भोगेका स्थानीयको आक्रोश समेटिएको पाल्पाका अधिवक्ता महेन्द्र पाण्डे बताउँछन्।
सिद्धबाबा खण्डमा कतिवेला पहिरो जान्छ, कुनै टुंगो हुँदैन। २२ साउन दिउँसो पाल्पाबाट बुटवल झर्दै गरेको लु १ ख ५७७१ नम्बरको यात्रुवाहक बसलाई सिद्धबाबामा पहिरोले सोहोरेर तिनाउमा खसाल्यो।
अहिलेसम्म तीन यात्रुको मात्र शव भेटिएकोले प्रहरीले क्षतिको अन्तिम विवरण बताउन सकेको छैन। त्यसअघि २ असारमा त्यही ठाउँमा लुम्बिनी मेडिकल कलेजका चार जना भारतीय चिकित्सक सवार लु १ च १७० नम्बरको जीपलाई पहिरोले थिच्दा दुई जनाको मात्र ज्यान बच्यो।
२२ साउन त्यो क्षेत्रमा खसेको पहिरोले पाँच जनालाई घाइते र मोटरसाइकल सहित आधा दर्जन सवारी साधनलाई क्षतिग्रस्त बनाएको छ।
गत १० वर्षमा करीब एक हजार जनाको ज्यान लिएको त्यो क्षेत्रको पहिरोले २०५० सालयता एक दर्जन बस पुरेर कामै नलाग्ने बनाएको पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बञ्जाडे बताउँछन्।
तीमध्ये कतिपय बस अझै भेटिएका छैनन्। यसलाई सरकारले सामान्य दुर्घटनाका रूपमा लिएको अनुभव गरेका यातायात व्यवसायीहरू रुष्ट छन्।
“सरकारले बाढीपहिरो पीडितलाई रु.२ लाख क्षतिपूर्ति दिन्छ” बञ्जाडे भन्छन्, “पहिरोले पुरेका बस र यात्रुले भने केही पाउन्नन्, कस्तो अन्याय?”
पाँच विकल्प
सिद्धबाबा क्षेत्रको तीन किलोमीटर सडक छल्ने तीन वटा वैकल्पिक सडक, एउटा नयाँ प्रविधि र सुरुङमार्ग गरी पाँच वटा महँगा विकल्प छन्।
सरकारले यस वर्षको नीति तथा कार्यक्रममा सुरुङमार्ग अध्ययन गर्ने भनेको छ। त्यसमा बजेट विनियोजन नभए पनि रातो किताबको अनुसूचीमा उल्लेख छ।
तीन किमी सुरुङमार्ग बनाउन कम्तीमा रु.१५ अर्ब लाग्ने प्राविधिकहरू बताउँछन्।
रूपन्देहीको खैरेनीबाट गोठादी, झडेवाहुँदै पाल्पाको बाँसटारी जोड्ने सडक, बुटवलबाट नुवाकोटहुँदै पाल्पाको झुम्सा निस्कने सडक र चरंगेबाट ज्यामिरेहुँदै झुसा जोड्ने सडकलाई सिद्धबाबा छल्ने तीन वटा वैकल्पिक बाटाको रूपमा लिइएको छ।
खैरेनी–बाँसटारी रुट करीब ५० किलोमीटर, नुवाकोट–झुंसा १९ किमी र चरंगे–बाँसटारी खण्ड १६ किमीको हुनेछ। यसमध्ये राम्रो विकल्प सुरुङमार्ग नै हुने पाल्पाका सभासद् पाण्डे बताउँछन्।
‘रकफल―रकनेट प्रविधि’ लाई सिद्धबाबा पहिरोबाट बच्ने अर्को वैज्ञानिक विधिको रूपमा हेरिएको छ। (हे.बक्स तल)हालसम्म नेपालमा प्रयोग नभएको यो प्रविधिबारे भूगर्भविद् डा. रञ्जनकुमार दाहालले अध्ययन गरेर गत वर्ष सरकारलाई प्रतिवेदन बुझाएका छन्।
यो प्रविधिका लागि सरकारले रु.२० करोड लगानी गरे सिद्धबाबाको पहिरोबाट बच्न सकिने बताउँदै दाहाल भन्छन्, “सुरुङभन्दा यो प्रविधि निकै सस्तो पनि हुन्छ।”
विडम्बना के छ भने, गत आर्थिक वर्ष यो सडक मर्मतका लागि रु.१० करोड विनियोजन भएकोमा रु.७ करोड फ्रिज भयो।
रकफल―रकनेट प्रविधि
रकफल―रकनेट प्रविधिबाट यूरोप, जापान, चीन लगायतका देशले ठूलो फाइदा लिएको भूगर्भविद् डा. रञ्जनकुमार दाहाल बताउँछन्।
उनका अनुसार, यो प्रविधिले तीन किसिमबाट पहिरो नियन्त्रण गर्छ। पहिलोमा ‘रकफल बेरियर्स’ बाट पहाडदेखि खसेका ढुंगाहरूलाई रोकिन्छ। दोस्रो ‘हाई पर्फर्मेन्स रकनेट’ मा भीरलाई नै जालीले ढाकेर पहिरो रोकिन्छ भने तेस्रो तरीका ‘डेब्री प्रो बेरियर्स’ मा भीरबाट झर्ने लेदो रोकिन्छ।
सिद्धबाबाको अति जोखिमपूर्ण १३ ठाउँमा यस्तो प्रविधि अपनाउनुपर्ने डा. दाहालको निष्कर्ष छ। उनका अनुसार, सिद्धबाबा क्षेत्रको भीर अरु ठाउँको भन्दा फरक प्रकृतिको छ। कडा चट्टान र नरम माटो मिश्रित त्यो भीरबाट हिउँद–वर्षा जहिल्यै ढुंगाहरू खसिरहेका हुन्छन्।
नेपालमा दाङको सुराईमा मात्र यस्तो प्रकृतिको पहाड भएको डा. दाहालले बताए।