रिपोर्टशनिबार, भाद्र ५, २०७२

भूकम्पपछि बढ्यो मानव तस्करी

हिमालखबर

नेपाल–भारत सीमा भएर हुने मानव तस्करी भूकम्पपछिको तीन महीनामै गत वर्षभरिको भन्दा दोब्बर पुगेको छ। र, उद्धार गरिएका अधिकांश महिला भूकम्पपीडित क्षेत्रका छन्।

– बच्चु विक, नयाँदिल्लीबाट फर्केर

 नयाँदिल्लीको जीबीरोडस्थित एक कोठीबाट बाहिर हेर्दै एक नेपाली महिला।तस्वीरः राजीव भट्ट


नयाँदिल्लीको जीबीरोडस्थित एक कोठीबाट बाहिर हेर्दै एक नेपाली महिला।तस्वीरः राजीव भट्ट

६ साउनमा काठमाडौंबाट दिल्ली जाने बस मञ्जुश्री ट्राभल्सको ‘बी’ तर्फका १३ र १४ नम्बर सीट अघिल्लो दिन बिहान बुकिङ्ग भए।

बुकिङ्गकर्ता ‘उत्तम’ ले यात्रुहरू बौद्ध अटो पार्किङबाट बस चढ्ने भनेर टिकट त्यहीं छाडेका थिए ।

भोलिपल्ट बसमा चढेकी सिन्धुपाल्चोक, मार्मिङ्ग–५ की पाल्सांयु तामाङ (३७) र भोटेनाम्लाङ–५ की निमा शेर्पा (३८) लाई टिकट कसले काट्यो थाहा थिएन।

एकअर्कामा अपरिचित पाल्सांयु र निमालाई ‘बौद्ध गएर ना.३ ख. २२५५ नम्बरको बस चढ्नु, दिल्ली बसपार्कमा मान्छे लिन आउँछ’ भनिएको थियो।

७ साउन बिहान ६ बजे पश्चिमी सीमानाका गड्डाचौकी आइपुगेका उनीहरूलाई माइती नेपालका कार्यकर्ताले रोकेर ‘तपाईंहरूलाई त कीर्गिस्थान लगिंदैछ, थाहा छ?’ भन्दा दुवै जना आत्तिएका थिए।

उनीहरूलाई गड्डाचौकी पार गरेपछि दिल्ली जान वनवासाबाट दक्षिण पश्चिम र हिमाञ्चल जान उत्तरपश्चिम लाग्नुपर्छ भन्ने पनि थाहा थिएन।

पाल्सांयुका अनुसार, उनीहरूलाई ‘स्याउ टिप्ने कामको लागि हिमाञ्चल प्रदेश लैजाने’ भनिएको थियो।

१२ वैशाखको महाभूकम्पबाट बेघर भएका उनीहरू स्याउ टिपेर महीनाको १२ देखि १५ हजार भारु कमाउने आशामा थिए।

उनीहरूलाई हिमाञ्चल प्रदेश पुग्न कति दिन र कति पैसा लाग्छ भन्ने पनि थाहा थिएन।

‘सबै व्यवस्था स्याउ टिप्न ठेक्का लिने ठेकेदारले गरेको हुन्छ’ भनिएकोले उनीहरू ढुक्क थिए।

Trafiking_Bachchu_DD.inddत्यही बसमा रहेकी राम्चे–३ सिन्धुपाल्चोककी सविता तामाङ (३२) पनि हिमाञ्चल हिंडेकी थिइन्। उनलाई हिमाञ्चलमा सम्पर्क गर्ने भनेर दिइएको फोन नम्बरमा सम्पर्क गर्दा ‘बसमा अरू चार जना पनि छन्, दिल्ली पुगेपछि कीर्गिस्थान लैजाने मान्छे आउँछन्’ भनिएको माइती नेपालको कञ्चनपुर संयोजक महेश्वरी भट्ट बताउँछिन्।

बसका यात्रुमध्ये सविता, पाल्सांयु, निमा, माक्पा–६ खोटाङकी उमा राई (४१) र जयराम राई (१५) मानव तस्करको जालमा परेका थिए।

त्यसको अघिल्लो दिन दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ‘नेपाली युवतीलाई त्यहाँबाट विदेश लगिंदैछ’ भन्ने सूचना पाएको थियो, मानव बेचबिखन विरुद्ध कार्यरत गैरसरकारी संस्थाहरूबाट।

त्यो सूचनाको आधारमा निगरानी बढाएको प्रहरीले दुबई उड्न लागेकामध्ये सात जना नेपाली युवतीको राहदानी र भिसादेखि बोर्डिङपाससम्म नक्कली पायो।

त्यस आधारमा नेपाली एजेन्टहरू विष्णु तामाङ (२५) र दया राम (३३) पक्राउ गरेको दिल्ली विमानस्थल प्रहरीका डिपुटी कमिस्नर (डीसीपी) एम.आई. हैदरले हिमाल लाई बताए। “त्यो समूहमा २८ जना नेपाली युवतीलाई दुबई लगिंदैथियो”, डीसीपी हैदरले भने।

उनीहरूलाई नक्कली बोर्डिङपास दिने एअर इन्डियाका कर्मचारी मनिष गुप्ता र कपिलकुमारलाई अर्को दिन समातेको उनले बताए।

२०–३५ वर्ष उमेर समूहका २८ युवतीमध्ये १६ जना सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, काभ्रे, रामेछाप र सोलु जिल्लाका थिए। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार उनीहरूलाई नेपाल पठाइसकिएको छ।

मानव तस्करहरूले महाभूकम्पपछिको तीन महीनामा सयौं नेपाली बालबालिका र महिलालाई भारतका विभिन्न शहरका कोठी (रेडलाइट एरिया) र तेस्रो मुलुक पुर्‍याएको नेपाल र भारतका सरकारी निकाय तथा गैरसरकारी संघ–संस्थाको अनुमान छ।

तीन दशकदेखि मानव बेचबिखन विरुद्ध क्रियाशील दिल्ली विश्वविद्यालयकी प्राध्यापक रोमा देवाव्रत भूकम्पपछि नेपाली बालबालिका र युवती बेचबिखनको अवस्था भयावह बनेको बताउँछिन्।

नेपालको भूकम्पग्रस्त क्षेत्रमा सबभन्दा पहिले भारतबाट मानव तस्करहरू पुगेको बताउँदै प्रा. देवाव्रत भन्छिन्, “केही ठाउँमा उनीहरूले राहत बाँडेको नाटक पनि गरे।”

भूकम्पपछि आफैं पनि पहिले उद्धार गरेर पठाएका बालबालिका र महिलाहरू रहेका सिन्धुपाल्चोकका केही गाउँ र शिविरहरूमा पुगेकी प्रा. देवाव्रत पहिले नेपाली युवतीहरू भारतका कोठीहरूमा पुर्‍याइने गरेकोमा भूकम्पपछि विदेशतिर पनि बेचिन थालेको बताउँछिन्।

तीनदशकबाट मानव बेचबिखन विरुद्ध क्रियाशील दिल्लीका रमाकान्त राई पनि महाभूकम्पपछि नेपाली महिला बालबालिकाको बेचबिखन बढेको बताउँछन्। भूकम्पपछि तीन पटक नेपाल–भारत सीमा क्षेत्रमा डुलेका राई भन्छन्, “मानव तस्करहरूले नेपालको संकटलाई मौका बनाएका छन्।” (हे. बक्स)

mapअमेरिकी विदेशमन्त्री जोन केरीले ११ साउनमा सार्वजनिक गरेको ‘ट्राफिकिङ इन पर्सन्स २०१५’ प्रतिवेदनले पनि नेपाली महिला तथा बालबालिकालाई भारत र अमेरिकादेखि विभिन्न एशियाली मुलुक, मध्यपूर्वी (खाडी राष्ट्र) र अफ्रिकासम्म पुर्‍याइएको जनाएको छ।

नेपाललाई बाध्यतात्मक श्रम तथा यौनव्यापारका लागि ‘स्रोत, ट्रान्जिट तथा गन्तव्य मुलुक’ का रूपमा चित्रण गरेको प्रतिवेदनमा वर्षेनि १५ हजारको संख्यामा नेपाली युवतीहरू उल्लिखित मुलुकहरूमा बेचबिखन हुन थालेको उल्लेख छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २००१ मा गरेको अध्ययनले त्यो वेला १२ हजार नेपाली बालबालिका भारतमा बेचबिखन हुने गरेको देखाएको थियो।

भयावह अवस्था
१२ वैशाखमा आएको ७.८ म्याग्निच्यूडको भूकम्पले ८ हजार ७१२ मृत्यु, २२ हजार २२० घाइते, २८ लाख विस्थापित र रु.७ अर्बभन्दा बढीको क्षति भएको नेपाल सरकारको तथ्यांक छ। मानव तस्करहरूले अहिले रोजगारीको लोभ देखाएर तिनै भूकम्पपीडितलाई शिकार बनाइरहेका छन्।

दार्चुलादेखि ताप्लेजुङसम्मको १ हजार ७५१ किलोमीटर लामो नेपाल–भारत खुला सीमाका सयौं नाकामध्ये ११ वटा मात्र सुरक्षा निगरानीमा छन्। मानव तस्करहरूलाई यसले सहज बनाएको छ।

भूकम्पयताको तीन महीनामा माइती नेपालले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) सँग मिलेर गरेको उद्धार संख्या त्यसअघि वर्षभरिको उद्धारभन्दा करीब दोब्बर छ।

पहिले हरेक महीना भारत लगिंदै गरेका १० देखि १२ जना माइती नेपालको पहलमा रोकिने गरेकोमा महाभूकम्पपछि यो संख्या ४०–५० पुगेको छ।

गत तीन महीनामा ११ नाकाबाट ६५८ जनाको उद्धार भएको छ, जसमा ३४५ महिला र २९९ बालबालिका छन्।

नेपाल सीमा हेर्ने एसएसबीका डीआईजी अशोककुमार सिंहका अनुसार यो अवधिमा एसएसबीले ४५ महिला र ९९ जना बालबालिकाको उद्धार गर्‍यो।

गत वर्ष एसएसबीले कुल ९४ जना नेपाली महिला तथा बालबालिकालाई उद्धार गरेको र ४४ जना विरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको थियो।

“उद्धार गरिएका बालबालिका र महिलाका नातेदार बनेर आएकाहरूलाई हामीले समात्यौं”, डीआईजी सिंह भन्छन् “तिनीहरू सबै मानव तस्कर समूहका नेपाली एजेन्ट हुन्।”

गाउँ पुग्ने एजेन्टले एक महिला वा बालबालिकाको अभिभावकलाई मनाउँदा रु.१५ हजारसम्म र कुराकानीको वातावरण बनाइदिने स्थानीय सहयोगीले रु.५ हजारसम्म पाउने गरेको प्रा. देवाव्रत बताउँछिन्।

उनका अनुसार, महिला वा बालबालिकालाई सीमा कटाउने अर्को एजेन्टले रु.५ हजारदेखि रु.७ हजारसम्म पाउँछ। सीमा कटेपछि भारतका सम्बन्धित शहरमा पुर्‍याउने अर्को एजेन्टले कम्तीमा भारु १० हजार पाउँछ।

त्यसपछि मुख्य तस्करले भारतीय कोठीमा भारु १ लाख २५ हजारसम्म र तेस्रो मुलुकमा डेढ लाख भारुमा बेच्ने गरेको पाइएको प्रा. देवाव्रत बताउँछिन्।

पछिल्लो समय मानव ओसारपसारका एजेन्टहरूले धार्मिक यात्राका बस र निजी कारहरू पनि प्रयोग गर्न थालेका छन्।

काठमाडौं–दिल्ली, पोखरा–दिल्ली र काठमाडौं–बनारस रुटमा चल्ने बसहरू उनीहरूका लागि सहयोगी बनेको मानव तस्करी विरुद्ध उत्तराखण्ड र उत्तरप्रदेशमा सक्रिय संस्था उत्तराञ्चल विकास संस्थान (यूडीआई) का अध्यक्ष टीएस भण्डारी बताउँछन्।

उनका अनुसार, पछिल्लो समय सीमा क्षेत्रमा चल्ने निजी कारको संख्या बढेको छ, जसलाई चेकजाँच गर्न सुरक्षाकर्मीले समेत पाउँदैनन्।

भारतीय गैरसरकारी संस्था पैरवीका अध्यक्ष अजय झा ५ साउनमा दिल्ली विमानस्थलबाट उद्धार गरिएका २८ जना नेपाली युवतीलाई कार र बसबाट दिल्ली पुर्‍याएको सूचना आफूले पाएको बताउँछन्।

uttarakhandघरदेखि कोठीसम्म

एजेन्टको लहलहैमा लागेर सात वर्षअघि काम गर्न दार्जीलिङ हिंडेकी खोटाङकी गौरी तामाङ (२९) (परिवर्तित नाम) ले नेपालगञ्जबाट भारतको रुपैडियाहुँदै दिल्ली पुगेको पत्तै पाइनन्।

३ साउनको साँझ् दिल्लीको जीबी रोड (कमला मार्केट) स्थित कोठी नं. ५९ मा भेटिएकी उनी अहिले चार वर्षको छोरा हुर्काउने बाध्यतामा पनि छिन्।

“यसलाई लिएर कसरी घर फर्किनु?” दिल्ली प्रहरीका एक अधिकृतसँग त्यहाँ पुगेको यो संवाददातालाई उनले उदास हुँदै भनिन्, “जीवनमा सहनु दुःख सहें, अब यहीं ठीक छ।”

‘उत्तम’ को नाममा काटिएको काठमाडौं–दिल्ली चल्ने बसको टिकटमा यात्रारत दुई जना महिलालाई महेन्द्रनगर, गड्डाचौकीबाट उद्धार गरिएको थियो।

उनले अरूका बारे भने चिन्ता जनाइन्। पछिल्लो समय जीबी रोडमा नयाँ–नयाँ नेपाली युवती देखिंदा आफूलाई दिक्क लाग्ने गरेको उनले बताइन्।

दिल्ली महिला आयोगकी नवनियुक्त अध्यक्ष स्वाती मालिवालले पनि जीबी रोडमा नेपाली युवतीको संख्या बढेको बताइन्।

नियुक्ति पाउने वित्तिकै त्यहाँका २४ मध्ये ४ वटा ‘भवन’ पुगेकी उनले तीनवर्षे कार्यकालमा जीबी रोडमा हुने यौन अपराध रोक्ने प्रयास गर्ने बताइन्।(हे. बक्स तल)

दिल्लीको ग्राम नियोजन केन्द्रकी अध्यक्ष सुतापा मुखर्जीले गरेको सर्वेक्षण अनुसार सन् १९९० मा जीबी रोडमा देहव्यापारमा लगाइएका ५०० महिलामध्ये ५० प्रतिशत नेपाली थिए।

ticket“अहिले त त्यहाँ ७५ प्रतिशत नेपाली महिला होलान्”, मुखर्जी भन्छिन्।

मानव तस्करहरूले नेपाली महिलालार्ई दिल्ली बाहेक सिलिगुडी, गुवाहाटी, पटना, लखनऊ, गोरखपुर, बनारस, इलाहावाद, कानपुर, आगरा, मुम्बई र कलकत्ता लगायतका भारतीय शहरका कोठीदेखि युद्धग्रस्त सिरिया, इराक, इरान र अफगानिस्तानसम्म पुर्‍याउन थालेका छन्।

दिल्ली विमानस्थलमा समातिएका नेपाली एजेन्ट विष्णु तामाङ र दया रामले गत तीन महीनामा २५० नेपाली युवतीलाई भारतबाट अन्य देश पठाएको बयान दिएका छन्।

भारतहुँदै तेस्रो मुलुक लगिंदै गरेका १४४ नेपाली युवती अहिले बहराइच जेलमा छन्।

मानव तस्करीको समस्या यति बढेको छ कि आफू जे कामको लागि दिल्ली आएको हो, त्यो गर्नै नपाएको नेपाली राजदूत उपाध्यायले बताए।

१९ साउनमा दिल्लीस्थित नेपाली राजदूतावासमा राजदूत उपाध्यायले भने, “दलालहरूले ल्याएका नेपाली महिला तथा बालबालिकाको उद्धार पहल र उनीहरूलाई नेपाल फर्काउने कामले नै बेफुर्सद बनाएको छ।”

मानव तस्करहरूले नेपाली बालबालिकालाई घरेलु कामदार, कपडामा जडी भर्ने मजदूर र सर्कसमा खेलाउन भारतका विभिन्न शहरमा पुर्‍याउँछन्।

२१ साउनमा महोत्तरीको मलिवारा नाकाबाट भारत लगिंदै गरेका ८ बालकसहित नदिम अन्सारी पक्राउ परेका थिए।

९–१२ वर्ष उमेर समूहका बालकहरूलाई कपडामा जडी भर्न जयपुर लगिंदै गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र श्रेष्ठले बताए।

कतिपय भारतीय संघ–संस्थाले समेत भूकम्पपीडित क्षेत्रका बालबालिकालाई ‘एडप्ट’ गर्ने नाममा लगेको पाइएको कञ्चनपुरको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का अध्यक्ष अशोकबिक्रम जैरु बताउँछन्।

महाभूकम्पले ल्याएको विपत्तिको असर विशेष गरेर महिला र बालबालिकामा परेको छ। यस्तो वेला मानव बेचबिखनका घटनाहरू बढेको पछिल्ला उदाहरणहरूले पनि पुष्टि गरेको छ।

भूकम्पमा आफन्त, घरबार र धनसम्पत्ति गुमाएका महिला र बालबालिका भौंतारिन थालेको अवस्था राम्ररी बुझेका मानव तस्करहरूले गाउँ–गाउँसम्म एजेन्ट खटाएका छन्।

“भूकम्पपछि तस्करहरूको जालमा परेर भारत आउने महिला तथा बालबालिकाको संख्या ह्वात्तै बढेको छ”, महिला तथा बालबालिका सुरक्षाका भारतीय अभियन्ता रमाकान्त राई भन्छन्, “यसलाई रोक्न ठूलै निगरानीको खाँचो छ।”

भूकम्प प्रभावित क्षेत्रहरूमा सरकारी तथा गैरसरकारी क्षेत्रले दिएको राहत सकिंदै गएको छ र त्यो थपिने सम्भावना छैन।

सबैको ध्यान संविधान र पुनःनिर्माणमा गएको यो वेला बेचबिखनको समस्या झ्न् बढ्ने देखिन्छ। प्रा. रोमा देवाव्रत यसलाई उच्च सतर्कताको समय भन्छिन्।

नेपाली चेलीका लागि घर लिलामीमा
ramakant_raiरमाकान्त राई
सञ्चालक, नेशनल कोलिसन फर एजुकेशन, भारत

रमाकान्त राई (६२) महिला तथा बालबालिका सुरक्षामा क्रियाशील भएको ठ्याक्कै ३० वर्ष भयो।

यो अवधिमा उनले अनगिन्ती नेपाली र भारतीय बालबालिका तथा महिलालाई मुक्त पारेर पुनर्स्थापित गराए।

एउटी नेपाली चेलीको मुक्तिको लागि धरौटीमा राखेको उनको घर लिलामीमा चढाउन अदालतले ६ पटक पत्र पठाइसकेको छ।

आठ वर्षअघि राईको अगुवाइमा जीबी रोडबाट २१ जना नेपाली चेलीलाई उद्धार गरिएको थियो। तीमध्ये एक जनालाई मुद्दा चल्नुअघि नै नेपाल घर पठाउनुपर्ने भयो।

त्यसको लागि पैसा नभएकोले राईको घर अदालतमा जमानत राखियो। अदालतमा बयान दिने वेला भएपछि ती चेलीलाई लिन राई आफैं सिन्धुपाल्चोक पुग्दा चेलीका बुबाले भने, “उसको बिहे गरिसकें, राम्रोसँग घरपरिवार चलिरहेको छ, यो सब थाहा भयो भने के होला!”

त्यसपछि चूपचाप दिल्ली फर्किएका राईलाई अदालतले ‘जमानत बापतको रकम जम्मा गर्छौ कि घर लिलामी गरौं’ भनेर पत्र काटेको काट्यै छ। तैपनि उनले हार खाएका छैनन्, बेचबिखनमा परेकी चेलीहरूको उद्धार र पुनर्स्थापनामा लागिरहेकै छन्।

त्यसै बस्ने हो भने मानव बेचबिखन नरोकिने उनी बताउँछन्। राई भन्छन्, “यो अपराध विरुद्ध नेपाल र भारतका सबै मिलेर लड्नुपर्छ।”

दिल्लीमा ६ लाख बलात्कार

swatiस्वाती मालिवाल
अध्यक्ष, दिल्ली महिला आयोग, भारत

कलेज पढ्दैदेखि जीबी रोडका नेपाली र भारतीय दिदीबहिनीको पीडाबारे सुनेकी थिएँ।

त्यसैले तीन साताअघि दिल्ली महिला आयोगको अध्यक्ष नियुक्त हुने वित्तिकै त्यहाँका चार वटा भवनका प्रत्येक कोठा पुगें, दुःखकष्ट हेरें। कतिपय दिदीबहिनीसँग स–साना बालबालिका छन्।

उनीहरू आफ्नो भन्दा पनि ती लालाबालाको भविष्यलाई लिएर चिन्तित छन्।

जीबी रोडमा हरेक महीना ६ लाख कण्डम खपत हुन्छ। यसको अर्थ, हामीले दिल्लीको मुटुमा प्रत्येक महीना ६ लाख बलात्कारलाई स्वीकृति दिइरहेका छौं। तीन वर्षको कार्यकालमा यसलाई रोक्ने पहल गर्नेछु।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>