थप समाचारसोमबार, भाद्र ७, २०७२
पार्क जस्तै बन्यो रत्नपार्क
-सविता श्रेष्ठ
त्रिभुवन विश्वविद्यालयमा एमए दोस्रो वर्षका विद्यार्थी योगेन्द्रकुमार राई (३१) बिहानको खानापछि हरेक दिन किताबकापी बोकेर रत्नपार्क पस्छन् ।
संखुवासभाका उनी रत्नपार्क लथालिङ्ग रहँदासम्म भृकुटीमण्डप पस्थे । “अहिले रत्नपार्कमा दिन ढल्केपछि साँझकाे कक्षा भ्याउन कीर्तिपुर पुग्छु”, राई भन्छन् ।
काठमाडौं महानगरपालिकाले रत्नपार्कलाई व्यवस्थित बनाएपछि आफ्ना बालबालिका लिएर आउने अभिभावकको संख्या पनि बढेको छ । साथीभाइको भेटघाट थलो पनि बनेको छ, रत्नपार्क ।
२०७१ वैशाखबाट बन्द रत्नपार्कलाई महानगरपालिकाले ‘हरियाली काठमाडौं’ अभियान अन्तर्गत मर्मतसम्भार गरेर गत १५ असारबाट खुला गरेको हो । बिहान ८ बाट बेलुका ६ बजेसम्म खुला रहने रत्नपार्क र रानीपोखरी क्षेत्रका लागि महानगरपालिकाले २२ जना कर्मचारी खटाएको छ ।
“त्यसयता सामान्यतः दैनिक आठ सयभन्दा बढी र सार्वजनिक बिदाको दिनमा १२ सयभन्दा बढी मानिस आउन थालेका छन्”, महानगरपालिकाको रत्नपार्क–रानीपोखरी एकाइ प्रमुख हरिशरण के.सी. भन्छन् ।
केसीका अनुसार, असारमा १४ हजार ४०० टिकटबाट रु.३ लाख २० हजार संकलन भएको थियो । पार्कमा प्रवेश शुल्क रु.२५ छ । विद्यार्थीले रु.१५ तिरे पुग्छ भने जेष्ठ नागरिक र शारीरिक रूपमा अशक्तहरूले पैसा तिर्नुपर्दैन ।
पुराना संरचनाको मर्मतसँगै नयाँ संरचनाहरू निर्माण गरिए पनि पानी परेको समयमा भने पार्कमा ओत लाग्ने ठाउँ छैन । त्यो आवश्यकता पूरा गर्न ओत लाग्ने ठाउँ र क्यान्टिनको व्यवस्था गर्न लागिएको केसीले बताए ।