समाचारसोमबार, भाद्र ७, २०७२
एकता र सद्भाव बनाउन व्यवस्थापिका संसद्को अपिल
व्यवस्थापिका–संसद्ले मुलुक संविधान निर्णयको ऐतिहासिक चरणमा रहेकाले सबैलाई धैर्य र संयम प्रदर्शन गर्न आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।
कैलालीका टीकापुर लगायतको स्थानमा भएको हिंसात्मक घटनाका बारेमा गृहमन्त्री वामदेव गौतमले संसद्बाट विशेष आह्वान गर्न आवश्यक रहेको जनाएपछि संसद्ले उक्त आह्वान गर्दै प्रस्तावलाई अनुमोदन गरेको हो ।
कैलालीको टीकापुरमा भएको घटनाप्रति सिङ्गो संसद् स्तब्ध गराएको जनाउँदै बैठकले उक्त घटनालाई दुःखद भनी खेद प्रकट पनि गरेको छ ।
बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख सुवास नेम्वाङले मुलुक संविधान निर्माणको यो ऐतिहासिक अभिभारा पूरा गर्ने चरणमा रहेको बेलामा असन्तुष्टि र गुनासाको स्वर आउनु स्वाभाविक भए पनि हिंसात्मक गतिविधि हुनु स्वीकार्य हुनै नसक्ने बताउनुभयो ।
बैठकले सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल र सङ्घसंस्थालाई सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन पनि अपिल गरेको छ ।
प्रस्तावमा भनिएको छ– ‘यस बेला हामी सबैले धैर्य र संयमित प्रदर्शन गर्न जरुरी छ । संसद्ले प्रशासन र सुरक्षाकर्मीलाई शान्ति सुव्यवस्था कायम गर्ने आफ्नो कर्तव्यपालनामा दृढ रहन पनि आग्रह गरेको छ ।”
-कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
