थप समाचारसोमबार, भाद्र ७, २०७२
यसरी भयो टीकापुर घटना
आन्दोलन संयमित र शान्तिपूर्ण गराउने सहमति भएको भोलिपल्टै यति विभत्स घटना हुनुमा थुप्रै कारण जिम्मेवार देखिन्छन् ।
-रामेश्वर बोहरा
आन्दोलनका कारण सामाजिक सद्भाव खल्बलिने स्थिति देखापरेपछि ६ भदौमा कैलालीका प्रमुख दलहरु, आन्दोलनकारी र स्थानीय प्रशासनबीच आन्दोलन शान्तिपूर्ण गराउने सहमति भयो ।
शुरुमा ‘अखण्ड सुदुरपश्चिम’ र पछिल्लो समय ‘थरुहट प्रदेश’को माग गर्दै भइरहेका प्रदर्शन क्रमशः सामाजिक सद्भाव खल्बल्याउने दिशामा अग्रसर भएपछि भएको यो सहमतिले परिस्थिति केही सहज हुने आकलन गरिएको थियो ।
तर, सहमतिपछि पनि परिस्थिति सहज हुने संकेत देखिन सकेन । आन्दोलनका क्रममा उत्पन्न हुनसक्ने चुनौतीलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले टीकापुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
७ भदौमा निषेधाज्ञा तोड्ने र नगरपालिका क्षेत्रमा ‘थारु स्वायत्त प्रदेश’ लेख्ने भन्दै आन्दोलनकारीले गाउँ गाउँबाट मान्छे जम्मा गरेर टीकापुरतर्फ ल्याए ।
टीकापुर नगरका चारैतिरबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर नगरक्षेत्रमा पस्ने तयारी गरेको थाहा पाएपछि चारैतिर प्रहरी तैनाथ गरियो ।
त्यसमध्ये सबैभन्दा ठूलो समूह आइरहेको पश्चिमतर्फको नाकामा ३५–४० जना प्रहरी तैनाथ थिए, जसको नेतृत्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेले गरेका थिए ।
आन्दोलनका क्रममा अप्रिय घटना नहोस् भनेरै सेती अञ्चल प्रहरी प्रमुख एसएसपी न्यौपाने तीन दिनअघि धनगढीबाट टिकापुर पुगेका थिए ।
कैलाली क्षेत्र नम्बर ३ अन्तर्गतका गाउँहरुबाट जम्मा भएर पश्चिमतर्फको मनुवातिरबाट आइरहेका हजारौंको भीडलाई रोक्न खटिएका एसएसपी न्यौपाने भीडलाई संयमित रहन र निषेधाज्ञा नतोड्न माइकिङ गर्दै थिए ।
मुनुवा र टीकापुर नगरपालिकाको सीमामा पर्ने पशु हाटबजार नजिक आन्दोलनकारी र प्रहरीको जम्काभेट भयो ।
आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै भीडको नजिक पुगेका उनलाई नियन्त्रणमा लिई एक्कासी भालाले आक्रमण गरिएको कैलालीमा रहेका एक प्रहरी अधिकृतले बताए ।
त्यसपछि अनियन्त्रित बनेको भीडले प्रहरीमाथि हँसिया, भाला, बञ्चरो लगायतका घरेलु हतियारबाट आक्रमण गरेका थिए ।
आक्रमणसँगै स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउन खोज्यो । “फायर गर्न खोज्ने प्रहरी पनि भीडबाट मारिए” एक सुरक्षा अधिकारीले भने, “भीडबाट भएको आक्रमणको प्रतिकार गर्नसक्ने अवस्था नै भएन ।”
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिब एवम् कैलाली–३ बाट निर्वाचित सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि भीड उत्तेजित भएको दाबी गरे पनि प्रहरी अधिकारीहरु सम्झउन गएका एसएसपी न्यौपानेमाथी नै आक्रमण भएपछि गोली चलाइएको बताउछन् ।
“प्रहरीलाई हदैसम्म संयमित हुन आदेश थियो, त्यही भएर एसएसपी न्यौपाने आफै भीडलाई सम्झाउन पुग्नुभयो” प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, “प्रहरीले आत्मरक्षाका लागि समेत बल प्रयोग गर्न पाएन ।”
मुनुवातर्फबाट टीकापुर प्रवेश गर्ने नाकामा यति भयानक घटना हुनुमा विभिन्न कारण छन् । चर्चा गरिएजस्तो सबैतिरबाट आन्दोलनकारी टिकापुर पस्ने प्रयास गरेनन् ।
अन्य क्षेत्रमा आन्दोलनकारीको थोरै संख्या थियो, तर यो नाकाबाट हजारौं आन्दोलनकारी आए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार करिब २० हजार आन्दोलनकारी घरेलु हतियारसहित टीकापुर पस्न खोजेका थिए ।
अघिल्लो दिन ‘थरुहट प्रदेश’का लागि आन्दोलनरत दल, समूह र प्रशासनबीच भएको सहमतिका आधारमा आन्दोलन शान्तिपूर्ण हुने आकलन गरियो, जसले गर्दा टीकापुर प्रवेश गर्ने नाकामा खासै ठूलो संख्यामा प्रहरी तैनाथ भएनन् ।
तर, दुवै खाले आकलन फेल भए र यति विभत्स घटना भयो ।
घटनामा एसएसपी न्यौपानेसहित ५ प्रहरी, दुइ सशस्त्र प्रहरी र एक नाबालकको मृत्यु भएको कैलालीका प्रजिअ श्रेष्ठले पुष्टि गरेका छन् ।
आन्दोलनकारीतर्फ कोही हताहत भए÷नभएको पुष्टि भएको छैन । केही घाइते भएको बताइएपनि त्यसको पुष्टि भएको छैन ।
घटनास्थल नजिकै सशस्त्र प्रहरी बलको उग्रतारा गण छ । प्रहरीमाथि आक्रमण भएलगत्तै मद्दतका लागि पुगेका सशस्त्र प्रहरीमाथि समेत आक्रमण भयो ।
त्यसक्रममा दुइजना सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो, अरु कैयौंले भागेर ज्यान जोगाए ।
‘घुसपैठले डरलाग्दो हिंसा’
आन्दोलन संयमित र शान्तिपूर्ण गराउने सहमति भएको भोलिपल्टै यति विभत्स घटना हुनुमा थुप्रै कारण जिम्मेवार देखिन्छन् ।
पहिलो, आन्दोनरत पक्ष, जिल्लाका प्रमुख राजनीतिक दल र प्रशासनबीच भएको सहमतिले गर्दा यति विभत्स घटना हुने आकलन नै गरिएन ।
त्यहीकारण भीडलाई सम्झाई बुझाई गर्न एसएसपी नै अघि सरेका थिए ।
सुरक्षा अधिकारीहरुले टिकापुरमा भएको घटनामा आन्दोलनकारी थारु समुदायसँगै विभिन्न समूहको घुसपैठ भएको बताएका छन् ।
प्रहरीमाथि निर्ममतापूर्वक आक्रमण भएको भन्दै उनीहरुले त्यो काम विभिन्न समूहको घुसपैठबाट भएको बताएका छन् ।
“यो क्षेत्रमा कहिल्यै नदेखिएका अनुहार छन्, उनीहरुको योजना नै आक्रमण गर्ने देखियो” नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारीले भने, “मट्टीतेल र पेट्रोल बोकेर आएका छन्, आक्रमणपछि भुईंमा लडेका सुरक्षाकर्मीलाई आगो लगाएर मारिएको छ, यो आन्दोलनको तात्कालिक आक्रोश हुँदै होइन ।”
केही दिनअघि टीकापुरमा आयोजित सभामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले उत्तेजक भाषण गरेका थिए ।
अधिकारका लागि आन्दोलनरत थारु समुदायलाई ‘घरेलु हतियार लिएर जाइलाग्न’ उनीहरुले उक्साएका थिए ।
“त्यसपछि नै आन्दोलन उग्र बन्नथाल्यो, त्यही खतरा देखेर हिंजोमात्रै आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको हो” एक सुरक्षा अधिकारीले भने, “तर, त्यसपछि नै यति विभत्स घटना हुनुले यसमा अनेक समूहहरुको घुसपैठ भएको पुष्टि भएको छ ।”
टीकापुरमा सेना
दिउँसोको घटनापछि रातिसम्म पनि टीकापुर तनावग्रस्त छ । कफ्र्यु लगाइएपनि आसपासका क्षेत्रमा आन्दोलनकारी एकत्रित रहेको सूचना आएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
टीकापुर नगरछेउमा भएको यो घटनापछि गाउँ गाउँमा त्रासको माहोल बनेको एक सुरक्षा अधिकारीले बताए । “कैलाालीका धेरै ठाउँमा थारु र अन्य समुदायको मिश्रित बसोबास छ, दुवै समुदायले आफूलाई खतरा महशुस गरिरहेका छन्” उनले भने, “हामी टिकापुरमा केन्द्रित छौं, गाउँमा गएर अबस्था सामान्य बनाउने प्रयास हुनसकेको छैन ।”
केन्द्रीय सुरक्षा समितिले दिएको निर्देशन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर ७ भदौ साँझ टीकापुरमा सेना परिचालन गरिएको छ ।
तेघरी र गोरङ्गेस्थित सैनिक व्यारेकबाट खटिएका सैनिकहरु टीकापुर पुगिसकेका छन् ।