थप समाचारसोमबार, भाद्र ७, २०७२
पूर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता हुँदैन: मधेशकेन्द्रित नेता
प्रधानमन्त्री सुशील कोइरालाले गरेको वार्ता प्रस्ताव मधेश केन्द्रित दलका नेताहरुले अस्वीकार गरेका छन् ।
विगतमा भएका सहमति अनुसार संविधानको मस्यौदा पुनर्लेखन नगरेसम्म वार्तामा नबस्ने अडान उनीहरुले दोहोर्याएका हुन् ।
७ भदौ अपराह्न झापाको विर्तामोडमा आयोजित जनजाति महासङ्घको कोणसभामा बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अघिल्ला सरकारहरुसँग भएका सहमति अनुसार संविधानको मस्यौदा पुनर्लेखन हुने सुनिश्चित भए मात्रै वार्तामा बस्ने बताए ।
तराई मधेश लोकतन्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अधिकार प्राप्तिको आन्दोलन दबाउन सरकारले आफूहरुलाई आतंककारीको आरोप लगाएको बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी गोलीले अघिल्ला सहमतिहरु कार्यान्वयनलाई रोक्न नसक्ने चेतावनी दिए । उनले भने, “हामी पछि हट्ने छैनौं ।”
कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सङ्घीय लिम्वूवान पार्टी नेपालका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वालगायतले बोलेका थिए ।
गोपाल गडतौला, झापा