थप समाचारसोमबार, भाद्र ७, २०७२
एसएसपी न्यौपानेलाई सम्झँदै उनका सहपाठी भन्छन, ‘निकै हँसिलो र भलादमी थियो’
कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको निधनले झापास्थित उनको परिवार र आफन्त शोकाकुल भएका छन् ।
झापाको भद्रपुर नगरपालिका– १३ स्थित घरमा रहेका उनका भाई प्रदीप बोल्न सक्ने अवस्थामा छैनन् । दाजु भिमनिधि न्यौपानेले भने, “हाम्रो परिवारको ज्योति गुमेको छ ।”
२०४४ सालमा काठमाडौंमा पढदाताका नेपाल प्रहरीको इन्सपेक्टर भर्ना भएका लक्ष्मणले २०३६ सालमा चन्द्रगढीको वीरेन्द्र माविबाट एसएलसी गरेका थिए ।
नाताले लक्ष्मणका काका पर्ने तर सहपाठी प्रद्युम्न न्यौपाने एउटै बेञ्चमा स्कुल पढेको सम्झिन्छन् ।
हाल धरानस्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत प्रद्युम्नले भने, “निकै भलादमी र हँसिलो थियो ऊ ।”
“अंग्रेजी परीक्षाको अघिल्लो दिन हामी पढ्नमैं व्यस्त थियौं लक्ष्मण चाहीं नाटक हेर्न कलबलगुढी पुगेको थियो,” एसएलसी परीक्षाका बेलाको घटना सम्झँदै उनी भन्छन, “घोटिएर पढने आफू फेल भइयो तर, ऊ चाहीँ पास भयो ।”
चन्द्रगढीका पुराना कानून व्यवसायी प्रेमनाथका ६ भाई छोरामध्ये लक्ष्मण काँइला हुन् । प्रेमनाथको तीन वर्षअघि निधन भइसकेको छ ।
प्रहरीमा सेवा शुरु गरेपछि लक्ष्मणको झापा आउजाउ पातलिएको थियो । उनी २०६७ सालमा करिब एकवर्ष प्रहरी नायब उपरीक्षकको रुपमा झापा जिल्ला प्रहरी कार्यालयमा थिए । उनकी श्रीमती अरुणा, एक छोरा र एक छोरी काठमाडौं मै छन् ।
६ भाई मध्ये न्यौपानेका तीन दाजुहरु जेठा लक्ष्मण, माइला बिदुर र साँहिला आनन्द काठमाडौंमा बस्छन् भने बाबु प्रेमनाथको निधनपछि आमा रमादेबी पनि काठमाडौं मै छन् ।
गोपाल गडतौला,झापा