समाचारमंगलबार, भाद्र ८, २०७२
रौतहट तनावग्रस्त, एक प्रदर्शनकारीको मृत्यु
रौतहटको गौरमा प्रहरीको गोलीबाट एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
दंगाग्रस्त क्षेत्र घोषणालाई अवज्ञा गरी आन्दोलनकारीले गौरमा गरेको प्रदर्शन अराजक हुन थालेपछि प्रहरीले चलाएको गोली लागी मछिया गाविस, महुली टोलका २८ वर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् ।
पिठ्यूँमा गोली लागेका ठाकुरलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा शिवनगरमा मृत्यु भएको हो ।
रौतहटको गौर र चन्द्रनिगाहपुरलाई स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै ५ जना भन्दा धेरै जम्मा हुन रोक लगाए पनि राजपुर, टिकुलीया लगायतका क्षेत्रबाट सयौंको संख्यामा प्रदर्शनकारीहरु आएर करबिर चोकमा प्रदर्शन गरिरहेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास हानेर तितिर वितर पार्न खोजेपनि अटेर गरी प्रहरी माथि ढुङ्गाा प्रहार गर्न थालेपछि प्रहरीले ३ राउण्ड फयरिङ गरेको थियो ।
निषेधाज्ञा तोड्दै ढुंगा प्रहार गरी अघि बढ्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।
जिल्ला सुरक्षा सुरक्षा समितिले गौर नगरपालिका क्षेत्र सँगै गौर चन्द्रनिगाहपुर सडकखण्डको ४२ किलोमिटर दायाँ बायाँ एक किलोमिटर क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको प्रमखु जिल्ला अधिकारी भुजेलले बताए ।
दंगाग्रस्त क्षेत्रमा समूहमा भेला हुन बन्देज लगाउने, शंका लागेका व्यक्तिलाई नजरबन्दमा राख्ने, विना पक्राउ पूर्जी नियन्त्रणमा लिने, सार्वजनिक क्षेत्रमा हुलदंगा, तोडफोड र सभा गरेको देख्ने वित्तिकै गोली समेत हान्ने लगायतका अधिकार सुरक्षाकर्मीलाई प्रदान गरिएको हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
