थप समाचारमंगलबार, भाद्र ८, २०७२
भाइ प्रदीपको सम्झनामा एसएसपी लक्ष्मण
म भन्दा काँल्दाई (लक्ष्मण न्यौपाने) एक ब्याचले अगाडि हुनुहुन्थ्यो, स्कूलमा । तर, साथीजस्तो लाथ्यो उहाँ, सँगै खेल्थ्यौं, पढथ्यौं ।
यहींकै विरेन्द्र माविबाट २०३६ मा दाइले एसएलसी गर्नुभयो । एसएलसी रिजल्ट लगत्तै उहाँ काठमाडौं जानुभयो, ठूल्दाजु जनार्दन काठमाडौंमा जागिरे भएकाले काँल्दाइलाई सजिलो भयो । माल्दाइ विदुर र साइँला आनन्द पनि काठमाडौंमै थिए ।
सवै दाजुभाइ काठमाडौं, म चाँही बनारस गएँ । उहाँको नेपाल प्रहरीमा भिड्ने सोच रहेछ । प्रहरी प्रधान कार्यालयमा इन्सपेक्टरको फाराम भर्न जाँदा म पनि सँगै गएको थिएँ ।
काँल्दाई तालिमका लागि छनौट भएपछि मैतीदेवी नजिकै होटलमा पसेर मिठाइ खाएको हिजै हो जस्तो लाग्छ ।
उहाँ जागिरे भएपछि म पनि उहाँ रहेका विभिन्न जिल्ला पुगें । प्रहरीमा जानु अघि उहाँले मलाई भारतको बनारस र इलाहबाद घुमाउनु भएको थियो ।
हाम्रो पेशा र बसाइँ फरक भएपछि भेटघाट वर्षमा एकचोटी मात्र हुन थाल्यो ।
काठमाडौं सिनामंगलको घर शान्ति मिसनबाट फर्किएपछि बनाउनु भएको हो ।
काँल्दाई बाहेक हाम्रो परिवारबाट कोही पनि प्रहरीमा छैनन् ।
पछिल्लो भेट फुपूको बर्खान्तका बेला २०७१ बैशाखमा थियो । त्यसबेला उहाँको पोस्टिङ बाग्लुङमा थियो । त्यसपछि भने उहाँसँग फोनमा मात्रै कुरा भयो ।
मलाई जहिल्यै पनि काममा ब्यस्त हुनुपर्छ, खाली नबस्नु भन्नुहुन्थ्यो । काँल्दाईकै नाममा छ, अहिले म बसेको घरजग्गा पनि ।
काँल्दाई बितेको कुरा पत्याउन मनले मानेको छैन । सपना जस्तै लागिरहेको छ ।
कोही आफन्त र चिनारु प्रहरीमा नभए पनि उहाँले मेहनतको बलमा ठूलो हैसियत बनाउनुभएको थियो ।
द्वन्द्वको बेला माओवादी अतिप्रभाबित क्षेत्रमा खटिंदा पनि केही नभएको उहाँलाई अहिले यस्तो भयो ।
गोपाल गडतौलासँगको कुराकानीमा आधारित