समाचारमंगलबार, भाद्र ८, २०७२

कैलालीमा त्रास, कर्फ्यूकाबीच टीकापुरमा तनाव

हिमालखबर

सुनसान टीकापुर

सुनसान टीकापुर

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनापपछि कैलालीको टीकापुर र आसपासको क्षेत्र अझै पनि त्रास व्याप्त छ ।

स्थानीय प्रशासनको कर्फ्यूपछि पनि यस क्षेत्रमा तनाव कम हुन सकेको छैन ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको अत्तरियादेखि कर्णाली चिसापानीसम्मको राजमार्ग सुनासन छ ।

राजमार्ग उत्तर–दक्षिणका पसल तथा घरहरुका ढोका बन्द गरिएका छन भने स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन् ।

राजमार्गमा थरुहट र अखण्ड सुदूरपश्चिम कुनै पनि समूहका कार्यकर्ता निस्केका छैनन् ।

कैलालीको लम्कीबाट दक्षिण करिब २७ किलोमिटर लामो टीकापुरसम्मको सडकको ठाउँ ठाउँमा अवरोध राखिएको छ । ७ भदौको प्रदर्शनका लागि गरिएको अवरोध अझै हटाइएको छैन ।

उक्त सडक खण्डको पूर्वपश्चिम छेउमा रहेका गाउँहरु समेत सुनसान छन् ।

फाट्टफुट्ट आगनमा मान्छेहरु देखिए पनि सँधै व्यस्त रहने लम्की–टीकापुर सडक सुनासन छ ।

टीकापुर नगरपालिकासँगै दुर्गाली, जोशीपुर लगायतका गाविसमा कर्फ्यू लागेका कारण जनजीवन झन त्रसित बनेको छ ।

दुई समुदायका बासिन्दा एक–अर्कासँग डराएका छन् । यद्यपी कतैबाट पनि अहिलेसम्म उक्साउने वा हिंसाका घटना भएका छैनन् ।

टीकापुरमा तनाव कायमै
टीकापुरमा भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीको गस्ती र लागेको कर्फयू बीच पनि स–साना समूहमा निस्कदै आगजानी गर्ने कार्य रोकिएको छैन ।

एक समूहले सभासद जनक चौधरीको घर र थरुहट आन्दोलन समितिका संयोजक रेशम चौधरीको फुलवारी एफएम, फुलबारी रिसोर्टमा आगजनी गरेका छन् ।

घरमा कोही नभएका कारण मानवीय क्षति भने भएको छैन ।

स–सानो समूहमा निस्कने व्यक्तिहरुले आगजानी गरेकोले रोक्न गाह्रो भएको टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धनबहादुर कठायतले बताए ।

टीकापुर घटनामा गाउँ गाउँबाट सर्वसाधारण आएको भएपनि ८ भदौमा भने उनीहरु टीकापुर बजार क्षेत्रमा आएका छैनन् ।

उनीहरु पक्राउ पर्ने त्रासका कारण घर छोडेर भागिरहेको स्थानीय थारु समुदायका अगुवाहरुले बताएका छन् ।

सुरक्षा टोलीले टीकापुर क्षेत्रमा मात्रै गस्ती गरिरहेको छ भने गाउँमा आक्रमण गर्न आउने हल्लाले त्रास बढेको छ ।

टीकापुर घटनामा मृत्यु भएका एसएसपी न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहरा सहित ७ जना सुरक्षाकर्मी र एक दुई वर्षीय बालकको शव आफन्तले बुझिसकेका छन् ।

थरुहट आन्दोलनका संयोजक रेशम चौधरी आएर बालकको हत्या विषयमा जानकारी दिनु पर्ने भन्दै स्थानीय बासिन्दाले केही बेर अस्पतालमा अवरोध समेत गरेका थिए ।

कफ्र्यूका कारण टीकापुरबाट प्रकाशन हुने पत्रपत्रिका बन्द भएका छन् । एफएमहरु पनि साँझ ५ बजेपछि बन्द गरिएको छ ।

त्रासका कारण एफएमहरु बन्द गर्नु पर्ने अवस्था आएको टीकापुर एफएमका निर्देशका मात्रिका तिमिल्सेनाले बताए ।

कफ्र्यूका कारण सञ्चारकर्मीहरुलाई समूहमा हिडडुल गर्न रोक लगाइएको छ ।

बच्चु विक, टिकपुरबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>