समाचारमंगलबार, भाद्र ८, २०७२
ओलीले भने, ‘ह्वीप नलागेपनि सभासदहरुलाई पार्टी नीतिमा रहन आदेश गर्छु’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभासद तथा कार्यकर्ता पार्टी नीति र आदेश अनुसार चल्नुपर्ने बताएका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान निर्माणको अन्तिम र जटिल अवस्थामा पार्टीको नीति, दृष्टिकोण, निर्णय र निर्देशनभन्दा बाहिर गएर नबोल्न सभासद्लाई निर्देशन दिए ।
“संविधानसभामा पार्टीको ह्विप नलागे पनि पार्टी कार्यकर्ता र सभासद्को हिसाबमा पार्टीको नीति निर्देशनअनुसार चल्न म आदेश गर्छु”, ओलीले भने, “पार्टीका कार्यकर्ता, सभासद्लाई अध्यक्षको हैसियतले दिने आदेश हो यो ।”
अन्यथा संविधान बनाउन नसकिने तर्क गर्दै उनले सभासद् पार्टीको कार्यकर्ता र सिपाहीजस्तै भएका नाताले आदेशलाई शिरोधार्य गर्नुको विकल्प नरहेको बताए ।
उनले परिस्थितिलाई बुझेर छिटो अगाडि बढ्नुपर्नेमा जोड दिँदै हरेकले संशोधन प्रस्ताव हाल्ने नभई , दलको तर्फबाट अघि सारिएको कुरालाई अनुमोदन गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले भने, “चित्त बुझेको होस् वा चित्त नबुझेको होस् प्रमुख सचेतकले मात्र संशोधन प्रस्ताव हाल्ने छन् । हामी हरेकले संशोधन हाल्न थाल्यौँ भने त्यसले अनेक समस्या पैदा गर्छ ।”
अध्यक्ष ओलीले संविधानमा चित्त बुझेन भनेर एउटा-एउटा कुरामा संशोधन गर्न नसकिने बताए । उनले भने, “यसले वातावरण धमिल्याउँछ, बिगार्छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
