समाचारबुधबार, भाद्र ९, २०७२
विधेयकको अन्तिम मस्यौदामाथिको छलफल शुरु, फोरमद्वारा बहिष्कार
संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल शुरु भएको छ ।
प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार गरेको हो ।
मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची छन् ।
मस्यौदामाथिको छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिए । यो क्रम कम्तीमा तीन दिनसम्म चल्नेछ ।
छलफलमा बोल्ने सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभामा हाल ५९८ सभासद्ले प्रतिनिधित्व छ ।
यसअघि संविधानसभाको आजको बैठकको प्रारम्भमै समय मागेर सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सभासद् अशोक राईले एकतात्मक राज्य प्रणालीलाई सङ्घीयताको ट्याग झुन्ड्याउने काम भएकाले यो संविधान लेखन प्रक्रियाप्रति आफ्नो पार्टीले लामो समयदेखि असहमति राख्दै आएको बताए ।
उनले कैलालीमा थरुहटको माग राख्दै आएको र सोमबार घटेको घटनाले गम्भीर तुल्याएको उल्लेख गरे ।
उनले भने, “संविधान राम्रो र हाम्रो बनाउनुपर्छ । मस्यौदामा समेटिएको राष्ट्रिय गान, भाषा, न्याय प्रणाली, सङ्घीयता र स्थानीय निकायको पक्षलाई हेर्दा सङ्घीयताको आत्मा फेला पार्न सकिने अवस्था छैन । जहाँ पायो त्यहीँ दङ्गा क्षेत्र घोषणा गर्ने, गोली ठोक्ने काम भएको छ ।”
बैठकमा आफ्नो भनाइ राखेपछि उनी पार्टीका तर्फबाट बैठक बहिष्कार गरिएको घोषणा गरेर बाहिरिए ।
यसअघि बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्दै भने, “संविधानसभा छोडेर कोही पनि बाहिर नजान, यहीँ बसेर संविधान लेख्न योगदान दिन आग्रह गर्दछु ।”
जनताकै बीचमा अशान्ति र कोलाहल भयो भने जनतामा निहित सार्वभौम सत्ता प्रस्फुटन हुन सक्दैन भन्दै उनले देश र जनताले पाउने संविधान भएकाले संविधान निर्माण गर्छौ भनेर आएको प्रतिबद्धतालाई सभासद्ले पूरा गर्नुपर्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
