थप समाचारबुधबार, भाद्र ९, २०७२
टीकापुर, धनगढी र कोहलपुरमा कर्फ्यू
कैलालीको टीकापुर र वरपरको क्षेत्रमा ७ भदौ साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज पनि जारी छ ।
८ भदौमा कर्फ्यूका बीच केही आगजनीका घटना भए पनि आज भने टीकापुरमा हिंसाका कुनै घटना भएका छैनन् ।
जिल्लाको मूख्य राजमार्ग सुनसान छ भने अत्तरीया लम्की लगायतका बजार पनि बन्द र सुनसान देखिन्छन् ।
त्यस्तै सुरक्षास्थितिलाई ध्यानमा राखी स्थानीय प्रशासनले सदरमुकाम धनगढी बजार क्षेत्रमा ९ भदौ विहान ११ बजेदेखी साँझ ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले धनगढीमा पनि कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोहलपुरमा पनि कर्फ्यू
स्थानीय प्रशासनले ९ भदौ १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ ।
थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले आज ९ भदौमा पनि लाठी सहितको जुलुस निकाल्ने तयारी गरेपछि सम्भावित झडपलाई रोक्न कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुरको पूर्व चप्परगौडी, पश्चिम सम्झनाचौक, उत्तर कौशिलानगर र दक्षिण राँझा चोकसम्म कर्फ्यु लगाइएको हो ।
हिजो ८ भदौ दिउँसो ३ बजेदखि आज बिहान ४ बजेसम्म कर्फ्यु जारी गरिएकोमा विहान केही बेर कर्फ्यू हटाइएको थियो ।
बाँकेकै नेपालगञ्जमा भने हिंजो दिउँसो २ बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको भए पनि अहिले खुला छ ।
-बच्चु विक, कैलाली/केशव राना, कोहलपुर