समाचारबुधबार, भाद्र ९, २०७२
संयम र धैर्यका साथ संविधान निर्माणमा योगदान गरौं: ओली
नेकपा एमालेका अध्यक्ष एवम् सभासद् केपी शर्मा ओलीले संविधान लेखनलाई निष्कर्षमा पुर्याउन अत्यन्तै संयम र धैर्यका साथ योगदान पुर्याउन सबैसँग आग्रह गरेका छन् ।
संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै ओलीले भने, “हामी अत्यन्तै असाधारण र अत्यन्त गुणस्तरीय संविधान निर्माणको प्रक्रियाको अभ्यासमा छौँ, यसले लोकतन्त्रको मूल्यमान्यतालाई गहिरोसँग आत्मसात् गरेको छ ।
” जनप्रतिनिधिबाट संविधान बनाएर घोषणा गर्ने जनताको लामो चाहना अनुसार लोकतान्त्रिक संविधान लेखनको ऐतिहासिक र गम्भीर मोडमा आइपुगेका छौं,” अध्यक्ष ओलीले भने, “संविधान निर्माणको जिम्मेवारीलाई सबै एकताबद्ध भएर पूरा गरौँ, हामी नेपाली दाजुभाइ एक अर्काको शत्रु होइनौँ भनेर सामाजिक सद्भाव कायम राख्ने काम गरौं, छलफल गरेर अघि बढौं ।”
शक्ति पृथकीकरण, न्यायपालिका, संवैधानिक निकायलाई स्वायत्त र स्वतन्त्र बनाउने पक्षमा मस्यौदाले ख्याल गरेको भन्दै उनले सामाजिक न्याय, समानतालगायत जनताले प्राप्त गर्नुपर्ने अरू हकअधिकार स्थापित गराउने र मुलुकलाई विकासको पथमा लैजाने दृष्टिबाट मस्यौदा महत्वपूर्ण दस्तावेजका रुपमा रहेको उनको भनाई छ ।
उन्नत लोकतन्त्रको अभ्यास गर्ने क्रममा संविधानसभाबाट संविधानको मस्यौदा निर्माण भएको जनाउँदै अध्यक्ष ओलीले संविधान लेखन प्रक्रियालाई कतिपयले बिथोल्ने प्रयास गरेकाले उनीहरुबाट सजग रहन आवश्यक रहेको बताए ।
अध्यक्ष ओलीले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ सहमति र सम्झौता दस्तावेजका रुपमा आएकाले सोहीअनुसार बुझ्न, बुझाउन र ग्रहण गर्न समेत आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
