थप समाचारबुधबार, भाद्र ९, २०७२

‘डेढ वर्षीय बालकलाई ताकेरै गोली हानियो’

हिमालखबर

७ भदौमा घरमै खेलिरहेका १८ महिनाका बालक टेकेन्द्रको गोली प्रहार गरी हत्या गरियो ।

७ भदौमा घरमै खेलिरहेका १८ महिनाका बालक टेकेन्द्रको गोली प्रहार गरी हत्या गरियो ।

बच्चु विक, टीकापुरबाट

७ भदौमा टीकापुरमा हत्या गरिएका डेढ वर्षीय बालक टेकेन्द्र (टेकु) लाई ताकेरै गोली हानिएको उनका अभिभावकले बताएका छन् ।

आँगनमा खेलिरहेका टेकु साउदलाई नजिकैकोे मकैबारीबाट गोली हानिएको उनका बुवा नेत्र साउदले बताए ।

सशस्त्र प्रहरी बलको टीकापुरस्थित उग्रतारा गणमा कार्यरत सशस्त्र प्रहरी हवल्दार नेत्र त्यो दिन सादा पोशाकमा ड्यूटीमा थिए ।

त्यस दिन टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको र आफूहरु निकै डराएको उनकी बहिनी दुर्गाले खबर गरेपछि नेत्र घरमा आएका थिए ।

एसएसपी लक्ष्मण न्यौपाने सहित ७ जना सुरक्षाकर्मी मारिएको पशुहाट बजार चोकबाट करिब ३ सय मिटर पूर्व टीकापुरतिर नेत्रको घर छ ।

“पशुहाट चोकमा घटना भएको करिब एक घण्टापछि गाउँ पसेको समूहले ताकेरै बाबुलाई गोली हान्यो” आगनमै रहेकी दुर्गाले हिमालखबरसँग भनिन् ।

“टेकु खेल्दै थियो । पछाडिबाट पाँच राउण्ड गोली हाने । सबै भित्र गयौं । बाबुलाई बोकेर दाई पनि भित्र पसे,” दुर्गाले भनिन् ।

टेकन्द्रलाई घरमा टेकु भनेर बोलाउने गरिएको थियो ।

प्रहरी हवल्दार नेत्र साउदको टीकापुरस्थित घर जहाँ उनका छोराको हत्या भयो ।

प्रहरी हवल्दार नेत्र साउदको टीकापुरस्थित घर जहाँ उनका छोराको हत्या भयो ।

टेकुलाई आँगनबाट भित्र लग्दा रगत बगेको देखेपछि मात्रै गोली लागेको थाहा भएको नेत्र बताउँछन् ।

“पहिले गोलीको आवाज मात्रै सुनिएको थियो, टाउको पछाडि गोली लागेको रहेछ । पुरै रगत बग्न थाल्यो । भूइँमा राख्दा ढलिहाल्यो,” सशस्त्र प्रहरी हवल्दार नेत्र भन्छन्, “सामान्य मान्छेले यसरी ताकेर हान्न सक्दैनन् । तालिम प्राप्त सुटर नै हुुनु पर्छ ।”

करिब ३० फिट टाढाबाट गोली हानिएको उनले अनुमान गरे ।

एसएसपी र इन्स्पेक्टरबाट खोसिएको पेस्तोलबाटै गोली हानिएको नेत्रको भनाई छ ।

“मलाई थाहा छ, पेस्तोल नै हानिएको । आवजबाटै थाहा भइहाल्छ नि” उनले भने ।

नेत्रका दाइ पूर्ण बहादुर साउद सशस्त्र प्रहरीका डिएसपी हुन् ।

प्रहरीको परिवार भन्ने थाहा पाएरै आएका व्यक्तिहरुले गोली हानेको स्थानीय बासिन्दा बताउँछन् ।

डेढ वर्षीय बालक टेकुकी आमा यशोदा बोल्न सक्ने अवस्थामा छैनन् । गाउँ नै शोकमा डुबेको छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>