समाचारबुधबार, भाद्र ९, २०७२
वीरगञ्जको मुख्य राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी
-सुरेश बिडारी, वीरगञ्ज
पर्सा प्रशासनले ९ भदौ राति ८ बजेदेखि लागूहुनेगरी पर्साको मुख्य राजमार्ग क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले भारतीय सीमा जोड्ने मितेरी पुलदेखि भन्सार क्षेत्र, रजतजयन्ती चौक, बसपार्क, प्रतिमा चोंक, गण्डक, परवानीपुरलगायतमा निषेधाज्ञा जारी गरेको छ । वेलुका ८ बजेबाट विहान ६ बजेसम्म रहने निषेधाज्ञामा पाँच जना भन्दा बढी भेला भएर हिड्न, सभा सम्मेलन गर्न, जनप्रदर्शन गर्नेजस्ता कार्यमा रोक लगाइएको छ ।
निषेधाज्ञाको उल्लंघन गरे सुरक्षाकर्मीले प्रचलित कानून अनुसार कार्बाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । प्रजिअ घिमिरेले भने, “१२ दिनदेखि सडक अवरुद्ध हुँदा बजार क्षेत्र, भन्सार र राजमार्गहरुमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।”
लगातारको मधेश बन्दले भन्सारमा रोकिएका गाडी गन्तव्यमा पु¥याउन वीरगंज–पथलैया करिडोरमा पर्ने त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ९ भदौ बुधबार सडक खण्डमा बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको पर्सा प्रहरी उपरीक्ष्क दिवेश लोहनीले बताए ।
मधेश बन्दले थप जनजीवन कष्टकर बन्दै गएको छ भने प्रदर्शन रोकिएको छैन । मोर्चाका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवको नेतृत्वमा आज पनि नाराबाजी गरेका थिए ।
गृहमन्त्री बामदेव गौतमले मधेश आन्दोलनमा भारतीय घुसपैंठ रहेको अभिव्यक्ति दिएको भन्दै मोर्चाले पुत्ला जलाएको छ ।