समाचारबुधबार, भाद्र ९, २०७२
नेपालगन्जमा आन्दोलनकारीसँग भद्र सहमति, वातावरण सहज हुँदै
संयुक्त थरुहट मधेश सङ्घर्ष समितिले बाँके जिल्लामा आह्वान गरेको आन्दोलन शान्तिपूर्ण र जनमुखी बनाउने लिखित सहमति गरेपछि अस्तिदेखि यहाँ लगाइँदै आइएको कर्फ्यू हटाइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोलीको पहलमा ९ भदौमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पसल, यातायातका साधन सञ्चालनमा सहजता अपनाइने, आन्दोलनका क्रममा कसैमाथि आक्रमण नगर्ने, जुलुस, सभा शान्तिपूर्ण रुपमा गर्ने, जुलुस सभाको अग्रिम जानकारी स्थानीय प्रशासनलाई गराउने, घरेलु हतियार प्रयोग नगर्ने सहमति भएको छ ।
आयोगका सदस्य सुदीप पाठक र प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकको अगुवाईमा भएको छलफलमा स्थानीय प्रशासनले पनि सहजता अपनाउने, अनावश्यक बल प्रयोग नगर्ने तथा निषेधाज्ञा र निषेधित क्षेत्रलाई पनि खुकुलो बनाउँदै जाने सहमति भएको छ ।
मानवअधिकारवादी संस्थाका पदाधिकारी, पत्रकार, प्रहरीको सहभागितामा भएको छलफलमा सङ्घर्ष समितिका प्रवक्ता पशुपतिदयाल मिश्रलगायत सदस्यहरुको सहभागिता थियो ।
“छलफलमा भएको सहमतिका आधारमा सङ्घर्ष समितिले आज राति गर्ने निर्णय हामी भोलि ८ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौ,” मोर्चाका प्रवक्ता मिश्रले राससलाई भने ।
स्थानीय प्रशासन र आन्दोलनकारी पक्षबीच भएको आजको भद्र सहमतिको खबर तत्कालै स्थानीय रेडियो एफएमबाट सार्वजनिक भएपछि यहाँका नागरिक हर्षित भएका छन् ।
सहमतिपछि यहाँका पसलहरु पनि हिजोको तुलनामा धेरै खुलेका र केही निजी यातायातका साधन पनि सञ्चालन भएका छन् ।
प्रमुख जिल्ला अधिकारी लेखकले भने, “स्थानीय प्रशासनले पनि सहमतिअनुसार सुरक्षा व्यवस्थालाई सहज बनाउँदै जान्छ । सङ्घर्ष समितिको निर्णय सार्वजनिक भएपछि निषेधित क्षेत्र हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय लिने काम हुन्छ ।”
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
