रिपोर्टबिहीबार, भाद्र १०, २०७२
टीकापुर आन्दोलनका घाइते भन्छन्, ‘जरिवानाको डरले आन्दोलनमा गएँ’
-केशव राना, बाँके
एसएसपीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर आन्दोलनमा घाइते भएका आशुराम चौधरीले जरिवानाको डरले आन्दोलनमा सहभागी भएको बताए ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका मनुवा–१, कैलालीका चौधरी अहिले नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारत छन् ।
देब्रे खुट्टामा गोली लागेका चौधरीले भने, “आन्दोलनमा नगए डाँड (जरिवाना) तिर्नुपर्ने उर्दी जारी भएपछि आन्दोलनमा गएको थिएँ।”
उनका अनुसार आन्दोलनमा नजाने परिवारले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी गरिएको थियो ।
“शुरुमा प्रहरीले ग्याँस हान्यो । आँखा पोल्यो । त्यसपछि गोली चलायो ।”, चौधरी भन्छन्, “मलाई गोली लागेपछि म फर्किहाले ।”
गोली लागेर घाइते हुनासाथ घर फर्किएका चौधरीले घटनाबारे थप जानकारी नपाएको बताए ।
उनी भन्छन्, “प्रहरीले पक्रने डरले आफूलाई चोट मात्रै लागेको भन्दै घर फर्किए ।” उनी ८ भदाै विहानदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।
मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले उनको अवस्थाबारे जानकारी लिदै गर्दा चौधरीले असुरक्षित महशुस गरिरहेको बताएका छन् ।
*सच्याइएकाे