समाचारबिहीबार, भाद्र १०, २०७२
टीकापुर आक्रमणमा एसएलआर र पेस्तोल लुटिएको खुलासा
७ भदौ दिउँसो कैलालीको टीकापुरमा प्रहरीमाथि आक्रमण गर्नेक्रममा थरुहट आन्दोलनकारीले प्रहरीसँग रहेका हतियार समेत लुटेको खुलासा भएको छ ।
टीकापुर इलाका प्रशासन कार्यालय प्रमुख सुमन धितालले आक्रमणपछि आन्दोलनकारीले एकथान सेल्फ लोडिङ राइफल (एसएलआर) र दुइ वटा पेस्तोल लुटेको हिमालखबरलाई बताए ।
एसएलआर हत्या गरिएका सशस्त्र प्रहरी हवल्दार राम बिहारी चौधरीबाट लुटिएको हो भने दुवै पेस्तोल हत्या गरिएका प्रहरी निरीक्षकद्धय केशब बोहरा र बलराम विष्टबाट लुटिएको हो ।
खुकुरी, भाला, हँसिया, बञ्चरो लगायतका घरेलु हतियारसहित आएका आन्दोलनकारीले आक्रमण गर्दा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
आन्दोलनकारी समूहबाटै भएको गोली प्रहारमा घरमा रहेका डेढ बर्षीय बालक टेकबहादुर साउदको समेत ज्यान गएको छ ।
टीकापुर आक्रमणमा घाइते भएका एक प्रहरी हवल्दारको १० भदौमा उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
बच्चु विक, टीकापुरबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
