थप समाचारबिहीबार, भाद्र १०, २०७२
त्रासले चकमन्न टीकापुर क्षेत्र, युवाले गाउँ छोडे

कैलालीको मुनुवा गाविस- १ कञ्चनपुरमा पुरुषहरुले गाउँ छाडेपछि महिलामात्रै छन् अहिले । सबै तस्वीर: बच्चु विक
नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जना मारिएको घटनापछि टीकापुर आसपासका पुरुष, खासगरी युवाहरुले गाउँ छोडेका छन् । अहिले गाउँमा महिला र बालबालिका मात्रै देखिन्छन् ।
१० भदौ बिहान टीकापुर घटना भएको पशुहाटबजार आसपासका गाउँहरुमा पुग्दा सबै सुनासान थिए ।
महिला, बृद्धबृद्धा र बालबालिका मात्रै गाउँमा देखिन्थे । ‘‘गाउँमा लोग्ने मान्छे छैनन्, केटाकेटी र महिला मात्रै्,’’ पशुहाटबजारबाट दुई किलोमिटर पश्चिमको मुनुवा गाविस–५ का गुनादास चौधरीले भने ।
मेडिकल सञ्चालक चौधरी गाउँमा त्रास व्याप्त भएकाले गाउँबाट युवाहरु भागेको बताउँछन् ।
नगरपालिका र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गरिएको छ ।

मुनुवा-५ शिवशक्तिस्थित मुक्त कमैया शिविरमा पनि पुरुषहरु देखिंदैनन् ।
यो क्षेत्रमा पाँच दिनदेखि कर्फ्यू लगाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले टीकापुर नगरपालिका सहित आसपासको क्षेत्रमा २४ सै घण्टा गस्ती गरिरहेका छन् ।
टीकापुर घटनापछि थारु समुदायका युवा तथा पुरुषहरु सुरक्षाकर्मी आएर पक्राउ गर्ने डरले गाउँ छोडेका छन् भने पहाडी समुदायका युवा र पुरुषहरु थारु समुदायबाट आक्रमण हुने भयले गाउँ छोडेर पूर्वपश्चिम राजमार्ग नजिकका गाउँमा गएको स्थानीय बताउँछन् ।
‘‘दुबैतिर डर छ । थारु साथीहरु पक्राउ पर्ने डरले भागेका छन् । पहाडी साथीहरु थारुहरुले केही गर्छन की भन्ने डरले भागेका छन्’’ घटनास्थलबाट १५ किलोमिटर उत्तरको जोशीपुर गाविस–४ जोशीपुरका नरेश मल्लले भने ।
थारु समुदायको बाहुल्यता रहेको सो गाउँमा १५ परिवार पहाडी समुदायका छन् । ‘‘जे होला देखा जाएगा भनेर म मात्रै बसेको छु । अरु सबै राजमार्गतिर गइसके’’ दिनेशले भने ।

कैलालीको जोशीपुर-४ स्थित सुनसान जोशिपुर बजार
नजिकै अर्को गाउँ जोशीपुर–१ मनकापुरका गिरीराज चौधरी गाउँ खाली भएको बताउँछन् ।
७ भदौका दिन आफ्नो घरमा पूजा भएकोले जुलुसमा नगएका कारण गाउँ नछोडेको बताउदै उनले भने ‘‘गाउँका सबै जुलुसमा गएका थिए । जुलुसमा गएका जति युवाहरु भागेका छन् ।’’
घाइतेहरुलाई पनि पक्राउ गरिएकोले जुलुसमा नगएका युवा र पुरुष पनि पक्राउ पर्ने डरले भागिरहेको उनी बताउँछन् ।
घटनास्थल पशुहाट बजार उत्तर पूर्वको दुर्गौली गाउँका महिलाहरु समेत घरबाट बाहिर निस्केका देखिएनन् ।
फाट्टफुट्ट आगनमा देखिएका महिला तथा बालबालिका पनि नयाँ मान्छे देख्ने वितिक्कै लुक्छन् ।
त्यही नजिकैको मनुवा गाविस–१ कञ्चनपुर गाउँका सुन्दर चौधरीलाई घाइते अवस्थामै प्रक्राउ गरिएपछि गाउँमा पुरुष कोही छैनन् ।
बडघरको आदेशले सबै जुलुसमा गएको बताउदै स्थानीय सीता चौधरीले भनिन् ‘‘पक्राउ परिने डर छ, गाउँमा बस्न गाह्रो भयो ।’’

कैलालीको मुनुवा-१ कञ्चनपुरका पुरुषहरु पक्राउ परिने डरले गाउँ छोडेका छन् ।
घाइते भएका उनका श्रीमान सुन्दर चौधरीलाई प्रहरीले टीकापुर अस्पतालबाटै पक्राउ गरेको छ । गाउँमा भगत रहेका सुन्दरले कसैलाई छुने समेत नगरेको सीता बताउँछिन् ।
‘‘कसैसँग नराम्रो बोल्ने पनि होइनन् । भगतले नराम्रो बोले पनि पाप लाग्छ भन्छन् । कुटपिट गर्ने त कुरै आउदैन’’ सीताले भनिन् ।
भलमन्सा (गाउँका मुखिया) ले जुलुसमा नजानेलाई एक हजार रुपैयाँ सजाय हुन्छ भनेपछि सुन्दर पनि जुलुसमा गएको उनले बताइन ।
सुन्दरको खुट्टामा गोली लागेपछि नेपाल रेडक्रसको टोलीले अस्पताल पुर्याएको थियो । उनलाई अस्पतलाबाट पक्राउ गरी धनगढी लगिएको छ ।
टीकापुर र आसपासको गाउँमा मावनअधिकारकर्मी, पत्रकार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाजका अगुवा कोही पनि नआउदा झन गाह्रो भएको स्थानीय बासिन्दा बताउँछन् ।
सेना र प्रहरी मात्रै आउने गरे पनि केही नबोलेर जाने गरेको बताउने उनले भनिन, “हामीलाई कस्तो छ कसैले सोध्दैनन् ।”
कर्फ्यूका बारेमा समेत जानकारी नभएका स्थानीय बासिन्दा के हुने हो भन्ने त्रासमा रहेको बताउँछन् ।
बच्चु विक, टीकापुरबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
