समाचारबिहीबार, भाद्र १०, २०७२
स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको मात्रै होः नेपाली सेना
नेपाली सेनाले दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनलाई सहयोग गर्न लिखित अनुरोध आएपछि सहयोगका लागि खटिएको भन्दै यसलाई सेना परिचालनका रुपमा नबुझ्न आग्रह गरेको छ ।
स्थानीय प्रशासनले आफ्नो जिम्मेवारी क्षेत्र भित्र शान्ति सु–व्यवस्था कायम गर्न दङ्गाक्षेत्र घोषणा गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) अनुसार लिखित अनुरोध गरेकाले सेना सम्बन्धित क्षेत्रमा खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले १० भदौमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दङ्गाग्रस्त क्षेत्रमा शान्ति सुव्यवस्था, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम गर्न स्थानिय जनताहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन तथा सोही घटनावाट प्रभावित भएका सुरक्षाकर्मीहरुलाई सहयोग गरी मनोवल उच्च पार्नको लागि समेत स्थान विशेषमा खट्टिई नेपाली सेनाले अहम् भूमिका खेलेको छ ।
“… आम नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव कायम राख्न अपरिहार्य भएकाले स्थानीय प्रशासनको लिखित अनुरोधमा आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि मात्र नेपाली सेना खटिएको हो । तसर्थ, यसलाई सेना परिचालन भएको भन्ने अर्थमा नलिई Aid to Civil Authority (स्थानिय प्रशासनलाई सहयोग गर्ने) कार्यको लागि मात्र नेपाली सेना खटिएको हो ,” विज्ञप्तिमा उल्लेख छ ।
सेनाले दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासन ऐनको परिधिभित्र रही काम गर्ने र आफ्नो जिम्मेवारी पुरा हुनसाथ व्यारेक फर्कने पनि जनाएको छ ।