समाचारशुक्रबार, भाद्र ११, २०७२
नुवाकोट: पहिरोमा परी पाँचको मृत्यु
नुवाकोटको गोर्स्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले पाँचको मृत्यु भएको पुष्टि गरे पनि सनाखत हुन नसकेको जनाएको छ ।
स्थानीयवासीले दिएको जानकारीअनुसार पाँचको शव पुरिएको अवस्थामा देखिएको छ । बिहान सबेरै प्रहरी घटनास्थलमा पुगे पनि उद्धारमा कठिनाइ भएको छ ।
पहिरोबाट ६ जनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको र घटनास्थल पुग्न अब चार घन्टा लाग्ने उनले बताए ।
स्थानीयवासी राजाराम अधिकारीका अनुसार पहिरोमा अझै मानिस जीवितै रहेको अनुमान गरिएको छ । पहिरो बगिरहेकाले उद्धारमा कठिनाइ भएको र मृत्यु हुनेको शव निकाल्ने प्रयास भइरहेको छ ।
यसैबीच नुवाकोटको सामरी–७ मा पनि पहिरो गएको छ ।
घर बगाएको जानकारीपछि प्रहरी घटनास्थलतर्फ हिँडे पनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस