समाचारशुक्रबार, भाद्र ११, २०७२
थारु आन्दोलनकारी मारिएका छैनन्: थरुहट नेता
थरुहट प्रदेशको माग गर्दै जारी आन्दोलनमा आन्दोलनकारीतर्फ मानवीय क्षति नभएको थरुहट नेताहरुले बताएका छन् ।
एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जना मारिएको घटनापछि आन्दोलनकारीतर्फ पनि ठूलो संख्यामा हताहती भएको खबर फैलिएका बेला थरुहट संघर्ष समितिका नेताहरुले आन्दोलनकारी कसैको पनि मृत्यु नभएको स्पष्ट पारेका हुन ।
यद्यपी घटनामा १२ जना घाइते भएको र पक्राउ पर्ने डरले उनीहरु अस्पतालसम्म पनि नआएको स्थानीय अगुवाहरुले बताएका छन् ।
थारुहट संघर्ष समिति कैलाली क्षेत्र नं. १ का संयोजक रेशम चौधरी, उपसंयोजक फूलराम चौधरी, क्षेत्र नं. २ का संयोजक देशराज चौधरी, क्षेत्र नं. ३ का संयोजक प्रेम चौधरी, क्षेत्र नं. १ सदस्यहरु धनिराम चौधरी, सन्तोष चौधरी, टीकापुरका प्रदीप चौधरी, आर्थिक समितिका संयोजक केवाला चौधरी लगायतका थरुहटका नेताहरुले भने उक्त घटनापछि घर छोडेका छन् ।
हिमालसँग टेलिफोन सम्पर्कमा आएका उनीहरुमध्ये केहीले सुरक्षाका कारण अहिले घरमा बस्ने अवस्था नरहेको बताए ।
रेशम चौधरी सद्भावना पार्टीका केन्द्रीय सचिव एवम् फुलबारी एफएमका सञ्चालक हुन भने पूर्व माओवादी लडाकु फूलमान एमाओवादीका तर्फबाट संविधानसभा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए ।
प्रेम र देशराज नेकपा–माओवादीमा आवद्ध छन भने केवालाल प्रतापपुर गाविसका पूर्व उपाध्यक्ष हुन । एमाले नेता मोहनसिंह राठौर अध्यक्ष हुँदा उपाध्यक्ष रहेका उनी अहिले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा आवद्ध छन् ।
उनीहरुले पनि आन्दोलनकारी मारिएको भन्ने खबर नआएको त्यो हल्ला मात्रै भएको बताएका छन् ।
‘‘ति सबै हल्ला हुन, मारिएका छैनन, १२ जना घाइते छन्’’ एक नेताले भने ।
टीकापुर नगरपालिका, मुनुवा, जोशीपुर र दुर्गौली गाविसमा कुनै पनि आन्दोलनकारीको मृत्यु नभएको स्थानीय बडघर तथा भलमन्साहरुले १० भदौको कुराकानीमा बताएका थिए ।
उनीहरुले १२ जना घाइते भएको तर, घाइतेको उपचारको व्यवस्था गर्न नसकिएको बताए ।
नेपाल रेडक्रसले उपचारका लागि टीकापुर अस्पताल पुर्याएका ४ जना पक्राउ परेपछि बाँकी गोली लागेका १२ जना पनि पक्राउ पर्ने डरले अस्पताल आएका छैनन् ।
उनीहरुका नाम भने थरुहट नेताहरुले सुरक्षाका कारण भन्दै टेलिफोन सम्पर्कमा खुलाउन चाहेनन् ।
सुरक्षाकर्मीले गाउँ गाउँ सर्च गर्दा पनि कोही मारिएको भेटिएको छैन ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ७ भदौ दिउँसोदेखि नै टीकापुर र आसपासका सबै गाविसमा गस्ती गरेको छ ।
आन्दोलनमा सहभागी १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘‘मारिएको भन्ने हल्ला मात्रै हो । यतिका दिन गाउँ गाउँमा पुग्दा पनि केही भेटिएन । कोही आन्दोलनकारी मारिएको छैन’’ इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले भने ।
थरुहट नेता लक्ष्मण चौधरीले पनि १० भदौ दिउसो १२ बजे फेसबुकमा स्टाटस लेखेर आफू टीकापुरमै भएको बताएका छन् ।
उनले पनि घाईतको मात्रै कुरा गरेका छन्, मारिएको कुरा लेखेका छैनन् ।
बच्चु विक, टिकापुरबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
