थप समाचारशुक्रबार, भाद्र ११, २०७२
रक्षाबन्धनमा पनि वीरगञ्ज नखुल्दा व्यवसायी र स्थानीय निराश
अहिले वीरगञ्जको माईस्थानको सडकमा विभिन्न प्रकारका राखी (रक्षाबन्धन) र पूजा सामाग्रीले भरिभराउ छ । तर, मधेशी मोर्चाको जारी आम हड्तालले गर्दा व्यवसायीहरुले पसल खोल्न नपाउँदा राखी सडक किनारमै बेचिंदैछ ।
उसो त यहाँ यो पर्वका लागि मात्रै सडक किनारमा पसल खोल्ने चलन पहिल्यैदेखि हो ।
बन्द र आन्दोलनले १४ दिनदेखि सडकमा निस्कन समेत नपाएका स्थानीय राखीकै बहानामा भए पनि बाहिर निस्केका छन् । माहौल उल्लासमय भएको छ ।
आमहड्तालका कारण अन्य पसल व्यवसाय भने सबै बन्द नै छन् ।
वीरगञ्जको माईस्थानमा अहिले दुई दर्जनभन्दा बढीले सडकमै पसल थापेर रक्षा बन्धनका लागि आवश्यक सामाग्री बिक्रि गरिरहेका छन् ।
तर बन्दले गर्दा ग्रामिण भेगबाट राखी किन्न ग्राहक नआउँदा व्यापार राम्रो हुन नसकेको उनीहरु बताउँछन् ।
सडकका पसलमै पनि अन्य वर्षहरु जस्तो भीड देखिंदैन । राखीका बेला प्रशस्तै भीड लाग्ने मिठाई, फलफूल र उपहारका पसलहरु भने खुलेका छैनन् ।
रक्षाबन्धन पर्वलाई ध्यानमा राखी दुई दिन बन्द खुलाउन पहल गरेका स्थानीय बासिन्दालाई बन्दको आयोजकले बन्द भइरहने भन्दै निराश पारेको छ ।
राखीको अघिल्लो दिन ११ भदौ बिहानैदेखि मोर्चाका कार्यकर्ताहरुले बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विरेन्द्र यादवले आन्दोलन उत्कर्षमा पुगेको समयमा बन्द फिर्ता नलिईने बताए ।
मोर्चाका पर्सा संयोजक प्रदीप यादवले आफ्ना मागहरु सरकारले पुरा नगरेसम्म आन्दोलन जारी रहने बताए ।
नेपालको तराईका जिल्लाहरुमा रक्षाबन्धन (जनैपूर्णिमा) का दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँध्ने र दाजुभाईले दक्षिणा र उपहार दिने प्रचलन छ ।
तराईमा धुमधाम हर्षोल्लासका साथ मनाइने यो पर्व अचेल पहाडी जिल्लाहरुमा पनि मनाउने गरिएको छ ।
सुरेश विडारी, वीरगञ्ज