समाचारआइतबार, भाद्र १३, २०७२
आन्दोलन छाडेर वार्ता गरौं: चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सङ्घीय प्रदेश सीमाङ्कनका विषयमा देखिएको विावाद वार्ता र छलफलका माध्यमबाट टुङ्गो लगाउन सकिने बताउँदै आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
नेता चौधरीले विज्ञप्ति जारी गरी नेपाली नेपालीबीचको सदियौँदेखि भाइचाराको सम्बन्ध कायम राख्दै सम्पूर्ण समस्याको समाधानको विकल्प वार्ता र संवाद नै भएको बताएका छन् ।
उनले सदियौँदेखि पहाडी समुदायसँग भाइचाराको सम्बन्ध राख्दै बसोबास गर्दै आएका थारू र मधेशी समुदायका नागरिकबीच पछिल्ला दिनमा भएका गतिविधिले साम्प्रदायिक विद्वेष फैलाउने र सामाजिक सद्भाव बिथोल्ने किसिमका घटनाले संविधान निर्माणमा नै बाधाव्यवधान उत्पन्न हुने खतरा औँल्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेका बेला आफ्ना माग सुनुवाइ नहुँदा आन्दोलन हुनु स्वाभाविक भएको तथ्यलाई पार्टी नेतृत्वले सहजतापूर्वक लिँदै जायज मागलाई राजनीतिक रुपमा सम्बोधन गरियोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’
रासस