सम्पादकीयआइतबार, भाद्र १३, २०७२

सञ्जालको कमाल (सम्पादकीय नोट)

किरण नेपाल

editorial_noteसाप्ताहिक खबरपत्रिका हिमालको १३–१९ भदौ अंकको आवरण पृष्ठमा के राख्ने भन्ने कुरा अन्तिम समयसम्म पनि तय हुन सकेको थिएन । कारण, कैलालीको टीकापुर घटना र त्यससँग जोडिएको राजनीतिमाथि आवरण रिपोर्ट थियो तर, रिपोर्ट प्रतिनिधित्व गर्ने सही तस्वीर वा सामाग्री भेटन सकिरहेका थिएनौं ।

घटनाको भोलिपल्ट बिहानै टीकापुर पुगेका कञ्चनपुरस्थित हाम्रा संवाददाता बच्चु विकले थुप्रै तस्वीर पठाए । तर, ती विभत्स तस्वीर प्रकाशन योग्य ठानिएन ।

टीकापुर घटनाकै निहुँमा मुलुकमा साम्प्रदायिक सद्भाव भड्काउने जर्बजस्त प्रयास भइरहेकोबारे हामीलाई राम्रै हेक्का थियो । टीकापुर हत्याकाण्डको तथ्य पाठकसामु ल्याउन आतुर हिमालको सम्पादकीय टोली सद्भाव कुनै हालतमा बिग्रन दिनु हुँदैन भन्नेमा सचेत थियो ।

यही बेला हिमालका प्रकाशक कनकमणि दीक्षितले आफ्नो फेसबुक पेजमा शेयर गर्नुभएको एक तस्वीरले हाम्रो ध्यान खिच्यो । लक्ष्मी ओलीको फेसबुक स्टाटसमा देखिएको त्यो तस्वीर दीक्षितबाट शेयर भएको रहेछ । हामीले उक्त तस्वीरको मूल स्रोत खोजी गर्‍यौँ, तर सफल भएनौ । यद्यपि तस्वीरको मर्मले हामीलाई तानिरह्यो । अन्ततः हामीले त्यो तस्वीर नछाप्ने तर यसबाट प्रभावित भएर अर्को बनाउने निर्णय गर्‍यौं । ताकी वास्तविक कलाकारमाथि अन्याय नहोस् र यति राम्रो चित्र (जो अहिलेको सन्दर्भमा हाम्रा लागि विशेष अर्थ राख्छ) को प्रभाव समाजमा परोस् ।

उक्त तस्वीरबाट प्रभावित भएर हाम्रा कार्टुनिस्ट भानु भट्टराईले हाल प्रकाशित आवरण चित्र तयार पारे । र, चित्रसँगै आवरणमै लेख्यौ, ‘लक्ष्मी ओलीद्वारा फेसबुकमा शेयर अनाम सर्जकको सिर्जनाबाट प्रभावित’ भनेर ।

प्रत्येक आइतबार बजारमा आउने हिमालको आवरण शनिबार फेसबुक र ट्वीटरबाट सार्वजनिक भएसँगै धेरैले मनपराइदिनु भयो । सँगसँगै यसको मुल चित्र र चित्रकारबारे पनि बहस शुरु भयो । त्यही क्रममा ध्रुव अधिकारीले चित्रको मूल कृति र कलाकारबारे जानकारी दिनुभयो ।   कलाकार डेल पार्सनको ‘मदर्स लभ’ शीर्षकको चित्र नै हाम्रो आवरणको मूल चित्र रहेछ । उनले बनाएको चित्रबाट बच्चा हटाएर कसले नेपालको नक्सा राख्यो, थाहा भएन । त्यही चित्र हामीले फेसबुकमा देख्यौ । यसरी हिमालको प्रिन्ट कपी बजार पुग्नु अघि नै हामी मुल चित्र र कलाकारसम्म पुग्न सक्यौँ । शायद यही नै हो सामाजिक सञ्जालको कमाल ।

यो अंकको हिमालको आवरण मन पराउनु हुने र यसको मूलस्रोतबारे सोधखोज गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौ ।
डेल पार्सनका कृतिहरु http://www.delparson.com/gallery_large/mothers_love.html मा हेर्न सकिन्छ ।
–सम्पादक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>