समाचारआइतबार, भाद्र १३, २०७२
विधेयकमाथिको छलफल जारी, आजै सकिने
संविधानसभामा संविधानको परिमार्जित विधेयक, २०७२ माथिको सैद्धान्तिक छलफल आज पाँचौ दिन पनि जारी छ ।
छलफल आज नै सकिने संसधिानसभा सचिवालयले जनाएको छ । आजको छलफलका पहिलो वक्ता नेपाली कांग्रेसका मिनेन्द्र रिजालले सबै मिलेर चाँडै संविधान जारी गर्नु पर्नेमा जोड दिंदै हिंसालाई राजनीतिमा नमिसाउन आग्रह गरे ।
उनले नागरिकता र धर्मको बिषय थप छलफल गरी टुंग्याउनुपर्ने बताए ।
एमालेका वामदेव गौतमले समुदायका आधारमा कही कतै संघीयता नभएको जिकीर गर्दै सबैको अधिकतम भावनालाई समेटेर सात प्रदेशको खाका आएको बताए ।
एमाओवादीका टोपबहादुर रायमाझीले अधिकारका लागि गरिएका आन्दोलन ठीक भएपनि संविधान निर्माणमा बाधा पु¥याउने कुरातर्फ सचेत रहनुपर्ने बताए ।
उनले सीमाङ्नको बिषयभन्दा अब जनतालाई अधिकारसम्पन्न बनाउने बिषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
फोरम लोकतान्त्रिकका रामजनम चौधरीले कर्णाली, सुर्खेतका मुद्दा सम्बोधन हुने तर, थारुहरुका मुद्दा सम्बोधन नहुने भन्दै प्रश्न गरे ।
उनले आठ प्रदेश बनाइएपछि मात्रै सबैका माग सम्बोधन हुने दाबी गरे ।
कांग्रेसका विमलेन्द्र निधिले विधेयकमाथि अन्तिम निर्णय गर्ने अधिकार संविधानसभा भएको भन्दै विभिन्न आन्दोलनलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्न संसदको उच्च स्तरीय वार्ता समिति बनाउनु पर्ने बताएका थिए ।