समाचारआइतबार, भाद्र १३, २०७२

चितवनमा व्यवसायी र आन्दोलनकारीबीच झडप, प्रहरी निरीक्षकसहित नौ घाइते

हिमालखबर

चितवनमा आन्दोलनरत थारु कल्याणकारिणीसभाका कार्यकर्ता र नारायणगढका व्यवसायीबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।

चितवन बन्द गराउँदै हिंडेका आन्दोलनकारी र बन्द खुलाउन दबाब दिने स्थानीय व्यवसायीबीचको झडप भएको हो ।

झडपमा आठ जना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारीणी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताए । त्यस्तै दुवैपक्षलाई सम्झाउन पुगेका वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाउनुभयो ।

बन्दका कारण चितवनको जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ ।

प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३०० वटा गाडीलाई गन्तव्यतर्फ पठाइएको बताए ।

पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उनले जानकारी दिए ।

बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>