समाचारआइतबार, भाद्र १३, २०७२

संविधान निर्माण प्रक्रिया र वार्ता सँगसँगै अघि बढाइने

हिमालखबर

चार दल बैठक । तस्वीर: रासस

चार दल बैठक । तस्वीर: रासस

प्रमुख चार राजनीतिक दलले संविधान निर्माण र वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेका छन् ।

लेखनको जारी प्रक्रियाभित्रै असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै प्रक्रिया निरन्तर अघि बढाउने निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सहभागी १३ भदौको बैठकले संविधान लेखनको प्रक्रिया निरन्तर अघि बढाउनुका साथै वार्ताका लागि पनि सक्दो पहल गर्ने सहमति गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान लेखन प्रक्रिया र प्रधानमन्त्रीले असन्तुष्ट मधेशकेन्द्रित दललाई वार्ताका लागि पठाएको पत्रको जवाफका बारेमा छलफल भएको पूर्व प्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले बताए ।

मधेशी मोर्चामा आबद्ध दलले तत्काल वार्तामा नबस्ने पत्र पठाएको सम्बन्धमा प्रमुख दलले पुनःवार्ताका लागि आह्वान गर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।

चार दलले संविधान लेखन प्रक्रियाभित्रै वार्ताद्वारा असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै संविधान निर्माण प्रक्रियामा ढिलाइ नगर्ने निष्कर्ष निकालेका हुन् ।
संविधानसभा नियमावलीअनुसार संविधानको विधेयकमाथिको छलफल आज सकिएपछि संशोधनका लागि सात दिनको समयावधि रहनेछ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभा नियमावलीअनुसारको सात दिन संशोधनको म्याद यथावत् राखेर सोही अवधिमा मधेशी मोर्चालाई वार्तामा बोलाउने बारेमा छलफल भएको बताए ।

संविधान लेखन प्रक्रियामा असन्तुष्ट दललाई सहभागी हुन प्रमुख चार दलकातर्फबाट प्रधानमन्त्रीले वार्ताका लागि पटक–पटक प्रयास गरे पनि उनीहरुले वातावरण नभएको भन्दै वार्तामा बस्न मानेका छैनन् ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखनको प्रक्रिया नरोकिने बताउँदै यही प्रक्रियाभित्र असन्तुष्ट दलका माग सम्बोधन गर्न सकिने विषयमा छलफल भएको बताए ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानको विधेयकलाई हुबहु वा सामान्य संशोधन गरेर पारित गरे आफूहरुलाई मान्य नहुने बताए ।

उनले मधेशमा हाल उठेका मुद्दामा सक्ने जति संशोधन गरेर तथा मधेशवादी दल र थरुहट सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गरी आन्दोलकारी पक्षको समेत सहमतिमा संविधान जारी गर्दा समस्याको दिगो समाधान हुने धारणा राखे ।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>