ब्लगआइतबार, भाद्र १३, २०७२
टीकापुर डायरी: सुनसान सडक, चकमन्न बस्ती
‘सुर्खेतमा मान्छे मरेपछि मात्रै राज्य दियो । यहाँ पनि दुई/चार जना प्रहरी मार्नुपर्छ’, आन्दोलनकारीले गाउँलेलाई भनेका थिए ।
-बच्चु बिक

मुनुवा-जोशीपुर सडकखण्डको पुलमा लेखिएको नारा । तस्वीर: बच्चु विक
‘टीकापुरमा एसएसपीसहित ६ जना प्रहरी मारिए’ भन्ने समाचार आउन थालेपछि कञ्चनपुरको महेन्द्रनगरमा रहेको मोबाइलले सुख पाएन । हेलो भन्न नपाउँदै, “कति मरे, को को मरे, कसरी मारिए ?” भन्ने प्रश्न ओइरिन्थे ।
‘टीकापुर गइनस् ?’ घरबाट पनि फोन आयो । झपाबाट सोधियो, “सयौं थारू मारिएका छन् । प्रहरीलाई दोषी नदेखाउन शव लुकाइएको छ भन्ने सुनिएको छ । साँचो के हो ?”
घटना भएको ७ भदौको रात निद्रा परेन । उकुसमुकुस भयो । राति नै सोचें, भोलि जसरी भए पनि टीकापुर पुग्छु ।
…
८ भदौ । महेन्द्रनगरदेखि कैलालीको अत्तरिया पुग्दासम्म त ठीकै थियो, त्यसपछि भने राजमार्गमा फाट्टफुट्ट साइकल र पैदलयात्री मात्रै देखिन्थे । राजमार्ग दुवैतर्फका घरका ढोका समेत बन्द थिए । सडकको यस्तो मौनता अत्यासलाग्दो हुने रहेछ ।
दुई घन्टाको मोटरसाइकल यात्रापछि बिहान १० बजे ११० किलोमीटर पूर्वको लम्की पुग्दा एउटा कस्मेटिक पसल आधा खुला देखियो । ‘ज्यान जोगाउन गाह्रो छ, दायाँ–बायाँ हेरेर विस्तारै जानुहोला’, पसले दिदीले सल्लाह दिइन् ।
लम्की–टीकापुर १६ किलोमीटर सडक मात्र होइन, घर पनि सुनसान थिए । घरका ढोका बन्द थिए । झयालबाट कोही–कोही चियाइरहेका लाग्थे । गाडीका सिसा, टायरको धूलोले सडक विचित्रको देखिन्थ्यो ।
टीकापुर टेकें । दिउँसै मध्यरातजस्तो, चकमन्न । कफ्र्यू, सुरक्षाफौजको गस्ती । टीकापुर एफएमको कार्यालय पुगें । र, समाचारकर्ममा जुटें । सुरक्षाकर्मी र पीडितसँग टेलिफोनमा मात्रै कुराकानी सम्भव थियो ।
कर्फ्यूबीच निस्केका स–साना पहाडे समुदायका भनिने समूहले थरूहट आन्दोलन परिचालन समितिका कैलाली क्षेत्र नं. १ का संयोजक रेशम चौधरीको फूलबारी एफएम, फूलबारी रिसोर्ट, सभासद् रामजनम चौधरीको घर र अन्य थारू नेताका चार वटा घरमा आगो लगाइसकेको थियो । फूलबारी एफएफमा लागेको आगो निभाउन सुरक्षाकर्मी आफैं दौडधूप गरिरहेका थिए ।
प्रत्येक सुरक्षाकर्मीको अनुहारमा आफ्ना सहकर्मी बचाउन नसकेको पीडा झल्किन्थ्यो । एकैपटक त्रास र आक्रोश पोख्थे ।
‘सशस्त्रले फायरिङ्ग खोलेको भए यस्तो हुने थिएन’, जनपदका सबै यसै भन्थे । जनपदका मात्र होइन सशस्त्रका अधिकृत र जवान आफ्नै हाकीमसँग रुष्ट थिए ।
आक्रोश कतिसम्म थियो भने घटनापछि सशस्त्र प्रहरी गण पुगेको टोलीले एसपी लक्ष्मण सिंहकै अगाडि हतियार र लुगा फुकालेर फालेका थिए । र भनेका थिए, ‘तपाईंकै कारण बडीगार्डलाई ज्यूँदै जलाइयो’ भनेर आक्रोश पोखेका थिए ।
सुरक्षाकर्मीकै मुखबाट यस्तो सुनेपछि आन्दोलनकारी आएको गाउँ जाने हुटहुटी थाम्न सकिनँ ।
…
९ भदौ बिहान । गाउँ जाने तयारीमा थियौं । तर, ‘टीकापुर बजार क्षेत्र भन्दा बाहिर नजानुहोला, जे पनि हुन सक्छ’ भन्ने सुरक्षाकर्मीको फोनले रोक्यो ।
गोली हानी मारिएका डेढ वर्षीय टेकेन्द्र साउदको घर पुग्नैपर्ने थियो । टीकापुर चोकदेखि करीब २०० मीटरमा साउदको घर, त्यसैको ५० मीटर पश्चिममा पशुहाटबजार, जहाँ हिंसा भड्किएको थियो ।
घटनामा टेकेन्द्रका बुबा सशस्त्र प्रहरी हबल्दार नेत्र साउद पनि मारिएको हल्ला थियो, तर उनैले हामीलाई आफ्नो घर पुर्याए । त्यतिञ्जेल छिमेकी समेत उनको घर आएका रहेनछन् ।
पत्रकार देखेपछि छिमेकी पनि आए । घटनास्थल हेर्दा थाहा भयो, पाँच वर्षीया दिदी निकृतिसँग खेलिरहेका १८ महीना दुई दिनका टेकेन्द्रलाई तालीमप्राप्त व्यक्तिले ताकेरै गोली हानेका थिए ।
पशुहाटबजार भन्दा २० मीटर उत्तरपूर्व गाउँँमा एसएसपी न्यौपाने मारिएको घरमा पुग्दा क्रूरताको हद देखियो । न्यौपानेको टाउको अचानोमा राखेर ढुङ्गाको सिलौटोले हानिएको थियो ।
अचानो र ढुङ्गामा लतपतिएको रगत तेस्रो दिन पनि उस्तै थियो । त्यसैको १० मीटर उत्तर प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहरा मारिएको ठाउँमा भाला र घरेलु हतियार छाडिएका थिए ।
छेउमै जलाइएका सशस्त्र प्रहरी उपरीक्षक सिंहका अंगरक्षक हबल्दार रामविहारी चौधरीका जलेका लुगा र पेट्रोलको जग पनि त्यहीं थियो । त्यतिवेलासम्म प्रहरीले मुचुल्का उठाउनै बाँकी थियो ।
…
१० भदौ बिहान । सुरक्षाकर्मीको चेतावनी अटेर गर्दै पत्रकारहरू गणेश चौधरी, ठाकुरसिंह थारू, सिद्धराज अवस्थी र म बिहानै ७ बजे गाउँतर्फ लाग्यौं ।
टीकापुर आसपासका मुख्य तीन गाविस मुनुवा, जोशीपुर र दुर्गौलीका पक्राउ परेका दश जना र घाइतेको खबर सुनिएका सबै दुई दर्जनजतिको घरमा पुग्यौं ।
घाइतेसँग जति जति कुरा हुँदै जान्थ्यो, सुनिएका कुरा हल्ला लाग्दै जान्थे । कसैले पनि आन्दोलनकारीको मृत्यु भएको कुरा सुनाएनन् । उनीहरू ८–९ हजारको समूहमा गोली चलेको थाहा पाउने बित्तिकै भागेर घर फर्केको बताउँथे ।
तीन गाविसमा करीब १२ जना मात्र सामान्य घाइते भएको पुुष्टि भयो । कसैले पनि आफूहरूले आक्रमण गरेको स्वीकारेनन् ।
भलमन्सा र बडघरले रु.५०० देखि रु.१ हजार जरिवाना तिर्नुपर्ने उर्दी गरेपछि मात्र जुलूसमा गएको बताउँथे । जुलूस आउनु पहिले गाउँमा एउटा समूहले परेड खेलेको र त्यसैले प्रहरीमाथि आक्रमण गरेको उनीहरूको भनाइ थियो ।
गाउँमा कसैका ढोका खुला थिएनन् । युवा र पुरुष दुर्लभ थिए । बाइकको आवाज सुन्नेवित्तिकै महिला र बालबालिका घर पछाडि भाग्थे । उनीहरूकै भाषामा कुरा गरेपछि मात्रै नजिक आउँथे । कति त कुराकानी गर्दागर्दै घटना सम्झेर धर्धरी रोए ।
आन्दोलनकारीले ‘हाम्रो राज्य आउँछ । जागिर मिल्छ, जे पनि गर्न पाउँछौ’ भन्ने हौवा फैलाएका रहेछन् । ‘सुर्खेतमा मान्छे मरेपछि मात्रै राज्य दियो । यहाँ पनि दुई/चार जना प्रहरी मार्नुपर्छ । अनि मात्रै थरूहट राज्य हुन्छ’ कतिपयलाई यसै भनिएको रहेछ ।
गाउँ घुमेर टीकापुर फर्किंदा लम्की–टीकापुर सडकका ठाउँ–ठाउँमा सुरक्षाकर्मीले केरकार गरे । हामीले ‘धनगढीबाट आएका हौं’ भन्ने जवाफ दियौं । पुनः टीकापुर पुग्दा कर्फ्यू यथावत् थियो ।
मारिएका एसएसपी न्यौपानेका अंगरक्षक मानबहादुर मगरसँग लामो कुराकानी गरें । थाहा भयो, एसएसपी न्यौपानेले चाहेका भए सयौं आन्दोलनकारी मारेर आफू बाँच्न सक्थे । तर, उनले आफू मरेर अरूलाई बचाएछन् ।
…
अहिले म महेन्द्रनगर फर्किएको छु, तर पनि मारिएका प्रहरी र ती अबोध बालकको अनुहारले सपनामा सताउन छाडेको छैन ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
