समाचारमंगलबार, भाद्र १५, २०७२
कांग्रेसले महाधिवेशन सार्न संविधान संशोधन गराउने
नेपाली कांग्रेसले महाधिवेशनको मिति सार्न अन्तरिम संविधानमा संशोधनको प्रस्ताव दर्ता गराउने भएको छ ।
असोजको शुरुमा महाधिवेशनको मिति तय गरेको कांग्रेसले संविधान जारी गर्ने समयसीमा लम्बिंदै जाँदा महाधिवेशन गर्न नसकिने भन्दै संविधानको मिति सार्ने भएको हो । तर, यसरी मिति सार्दा पार्टीको वैधानिकतामाथि नै प्रश्न उठने भएकाले कांग्रेसले अन्तरिम संविधानमा संशोधन गराउने प्रस्ताव अघि सारेको छ ।
संविधानसभा भवनमा १५ भदौमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अन्तरिम संविधानमा संशोधनका लागि अन्य प्रमुख दलहरुसँग छलफल गरी टुंगो पुग्ने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले भने, “मिति सार्ने बारे आजै विशेष समितिमा पार्टीका तर्फबाट विशेष प्रस्ताव लैजान्छौं ।”
आजको बैठकमा पार्टी महाधिवेशन पुसमा सार्नेबारे छलफल भएपनि महाधिवेशन सार्न संविधानमा संशोधन गर्नुपर्ने भएकोले टुंगोमा पुग्न नसकेको उनले बताए ।
अन्तरिम संविधानमा दलहरुले पाँच बर्षभित्र अनिवार्य महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
यसअघि कांग्रेसले १७ भदौदेखि स्थानीय तह हुँदै असोज शुरुमा महाधिवेशन गर्ने मिति तोकेको थियो । नेताहरु संविधान निर्माणमै व्यस्त रहँदा महाधिवेशन गर्न नसकेको कांग्रेसको भनाई छ ।
त्यसैगरी कांग्रेस केन्द्रीय समितिको बैठकले संविधानको विधेयकमाथि १२ वटा विषयमा संशोधन गर्नु पर्ने देखिएको भन्दै त्यसबारेमा पनि चार दलको बैठकमा छलफल गरी संयुक्त संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ ।
“सकेसम्म सबै विषयमा सहमति गरी संयुक्त संशोधन दर्ता गराउने नसके तीन दल वा दुई दलबीचमै सहमति गरी संशोधन गर्ने भन्ने कुरा आएको छ,” पौडेललले भने ।
संविधानको प्रस्तावना, धर्म निरपेक्षता, थ्रेसहोल्ड, संवैधानिक अदालत, सीमाङ्कन लगायतका १२ वटा विषयमा संशोधन प्रस्ताव दर्ता गराइने छ ।
बैठक आज अपराह्न पुनः बस्नेछ ।
कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
