समाचारमंगलबार, भाद्र १५, २०७२

वीरगञ्जमा प्रहरीको गोलीबाट एकको मृत्यु, सात घाइते

हिमालखबर

वीरगञ्जमा कर्फ्यूको अवज्ञा गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ ।

वीरगञ्जको राधेमाईमा प्रहरीको गोली लागि मनियारीका धर्मराज सिंहको मृत्यु भएको हो । यसअघि १४ भदौमा प्रहरीको गोलीबाट मनियारीकै ३० वर्षीय दिलीप चौरसियाको मृत्यु भएको थियो ।

यस्तै आज विहान कर्फ्यूकै बीचमा आन्दोलनकारीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा जम्मा हुन थालेपछि प्रहरीले प्रहार गरेको रबर गोलीबाट सिभिल ड्रेसमा रहेका प्रहरी जवान २६ वर्षीय नरेन्द्र चौधरी, ३५ वर्षीय सुदीप लामा र औषधी किन्न आएकी ४५ वर्षीया एतवरीया देवी घाईते भएका थिए ।

कर्फ्यूको अवज्ञा गर्दै अस्पतालतर्फ आउँदै गरेका आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि चलाएको रबर गोली लागेर प्रहरी जवानसहित तीन जना घाइते भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । उनले आन्दोलनकारीको ढुंगा लागि केही प्रहरी पनि घाइते भएको बताए ।

“प्रहरीमाथि पनि लगातार आक्रमण भइरहेको छ, त्यही क्रममा प्रहरीले प्रहार गरेको एउटा रबर गोलीको छर्रा लागेर तीन जना सर्वसाधारण घाइते भएका हुन्,” लोहनीले भने, “घटना अस्पताल बाहिरकै हो, अस्पतालभित्र गोली हानिएको छैन ।”

त्यस्तै वीरगञ्जकै नगवामा भएको झडपमा गोली लागेर १९ वर्षीय सञ्जय साह, ११ वर्षीय सुरज साह, अजय साह, अमिरीलाल पाल घाइते भएका छन् । घाइतेमध्ये अमिरीलालको अवस्था गम्भिर भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय प्रशासनले जारी गरेको कफ्र्यू आदेश तोडेर आन्दोलनकारीहरुले आज विहानैदेखि बारा र पर्साका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

यसअघि बिहान वीरगञ्जको गण्डकमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बहुअरीका संदीप पटेल र दिपेश पटेल घाईते भएका थिए ।
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>