समाचारमंगलबार, भाद्र १५, २०७२

आन्दोलनकारीले फायर गरिरहेका छन्ः एसपी

हिमालखबर

बारामा प्रहरी र आन्दोलकारीबीच १५ भदौ विहानैदेखि झडप भइरहेको छ । तस्वीर: श्याम गुप्ता

बारामा प्रहरी र आन्दोलकारीबीच १५ भदौ विहानैदेखि झडप भइरहेको छ । तस्वीर: श्याम गुप्ता, बारा

वीरगञ्जमा आन्दोलनकारीले कटुवा बन्दुक, सुतली बम लगायतका हतियारले प्रहरीमाथि आक्रमण गरिरहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताएका छन् ।

१४ भदौ साँझ कर्फ्यू तोडेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरगञ्जमा आज पनि कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्ने क्रम जारी छ ।

आज, १५ भदौमा वीरगञ्जकै नगवामा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । पर्सा मनरियाका धर्मराज सिंहको प्रहरीको गोलीबाट मृत्यु भएको हो ।

विभिन्न ठाउँमा भएका झडपमा प्रहरीले चलाएको गोली लागी ७ जना घाइते भएका छन् ।

पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले आन्दोलनकारीहरुले प्रहरीमाथि कटुवा पेस्तोल, सुतली बम र अन्य घरेलु हतियारले आक्रमण थालेको बताए ।

“नगवामा कटुवाबाट फायर भएको छ, टाढैबाट फायर भएकाले क्षति भएन, श्रीपुरमा प्रहरीमाथि हाते बम फालियो,” लोहनीले भने, “उनीहरु घरेलु हतियार लिएर निकै अराजक रुपमा आक्रमणमा उत्रेका छन् ।”

उनले प्रहरीको गोलीबाट एक आन्दोलनकारीको मृत्यु भएको पुष्टि गरे ।

प्रहरी चौकी जलाइए
आन्दोलनकारीले सशस्त्र प्रहरीको वेशक्याम्पसहित विभिन्न प्रहरी चौकीहरुमा आगजनी र तोडफोड गरेका छन् ।

वीरगञ्ज भिस्वास्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा मधेशी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । बेस क्याम्पको एउटा मोरसाइकलमा समेत बन्दकर्ताले आगो लगाएका छन् ।

भिश्वाकै नेपाल प्रहरीको चौकीमा पनि तोडफोड भएको छ ।

चौकी तोडफोड भएपछि त्यहाँका प्रहरीहरु सशस्त्र प्रहरी वेशक्याम्प बञ्जारीमा आएर बसेका छन् ।

त्यस्तै पर्साको अमरपट्टी गाविसमा रहेको झौवा इटियाइ प्रहरी चौकीमा आगजनी भएको छ । बिहानै प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गरेको संघीय समाजवादी फोराम नेपालका केन्द्रीय सदस्य विरेन्द्र पटेलले जानकारी दिए ।

पाडेपुरस्थित प्रहरी चौकीमा समेत आगजनी भएको छ । आगजनीबाट चौकी ध्वस्त भएपछि त्यहाँ रहेका ६ जना प्रहरीलाई ईलाका प्रहरी सेढवामा सारिएको छ ।

मोर्चाका कार्यकर्ताले प्रहरी चौकी पिपडारीमा पनि तोडफोड गरेका छन् ।

सवारी साधनमा आगजनी
आन्दोलनकारीले पोखरियामा ना १४ प १४४५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल जलाएका छन् ।

केडिया आँखा अस्पताल आगाडि एउटा ट्रकमा आगजनी भएको छ । वीरगन्जको सिजी एग्रो प्रोडक्टद्वारा उत्पादित खानतेल लिएर गएको ना ३ ख ८७२१ नम्बरको ट्रकमा आगजनी भएको हो । उनीहरुले ट्रकमा रहेको खानेतेलका कार्टुनहरु लुटपाट समेत गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जस्थित आन्तरिक राजश्व कार्यलयका दुइ वटा गाडीमा पनि आगजनी गरेका छन् ।

नेपाली कांग्रेस कार्यालयमा तोडफोड
मधेशी मोर्चाका कार्यकर्ताहरुले नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयमा ढुंगामुढाका साथै पार्टी कार्यालयको झण्डा जलाएका छन् ।

उनीहरुले वीरगन्ज उपमहानगरपालिका–२५ को वडा कार्यालयमा पनि आगजनी गरेका छन् ।

आन्दोलनकारीले त्यहाँ रहेको स्वास्थ्य चौकीमा नेपाल सरकार लेखिएको वोर्डलाई जलाएर मधेश सरकार लेखिएको बोर्ड राखेका छन् ।

त्यसैगरी आन्तरिक राजश्व कार्यलयभित्रका कागजपत्र र कम्प्युटर लगायतका सामान झिकेर आन्दोलनकारीले आगो लगाएको प्रहरीले जनाएको छ ।

बारामा पनि तनाव
बाराको सदरमुकाम कलैयास्थित भरत चौकमा प्रदर्शनकारी र प्रहरीबीच विहानैदेखि झड्प भइरहेको छ ।

झड्पले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाउँदा कलैयामा पाँच जना घाइते भएका छन् । घाइतेको कलैया स्थित जिल्ला अस्पतालमा उपचार भइरहको छ ।

बन्दकर्ताले बारा र पर्साका राजमार्गमा पोल, हयूम पाइप, ढुंगा राखेर सड्कमा अवरोध पु¥याएका छन् । बिभिन्न स्थानमा टायर बालेर प्रदर्शनकारीहरु सड्कमा उत्रिएका छन् ।

वीरगञ्जमा प्रहरीको गोलीबाट एकको मृत्यु, सात घाइते
कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु

बाराबाट श्याम गुप्ता र वीरगञ्जबाट सुरेश विडारीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>