समाचारमंगलबार, भाद्र १५, २०७२
वीरगञ्जमा चार जनाको मृत्यु, दङ्गाग्रस्त क्षेत्र घोषणा (अपडेट)

वीरगञ्जको घण्टाघर क्षेत्र । यहाँ विहान आन्दोलनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । तस्वीर: सुरेश विडारी
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाको जारी आन्दोलनका क्रममा वीरगन्जमा आज चार जनाको मृत्यु भएको छ ।
प्रहरीसँगको झडपमा वीरगञ्ज–२१ भवानीपुरका धर्म सिंह, लक्ष्मणवाका सोहन साह कलवार, भोला प्रसाद र नगवाका दिनानाथ साह कलवारको मृत्यु भएको नारायणी उपक्षेत्रिय अस्पतालले जनाएको छ ।
आन्दोलनकै क्रममा यसअघि १४ भदौमा दिलिप चौरसियाको मृत्यु भएको थियो ।
दङ्गा ग्रस्त क्षेत्र घोषणा
यसैबीच सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले पर्सालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
वीरगञ्ज र वरपरको तनावपूर्ण स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले १४ भदौदेखि कर्फ्यु लगाए पनि स्थिति थप उत्तेजक हुँदै गएपपछि जिल्लालाई दङ्गाग्रस्त घोषणा गरिएको हो ।
पर्साको शंकराचार्य गेट, भन्सार कार्यालय रजत जयन्ती चोक, इदगाह, छप्कैया, आदर्शनगर, माईस्थान, घण्टाघर, श्रीपुर पावर हाउस, चिनीमिल गण्डक सम्मको त्रिभुवन राजपथको सडक क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशसान कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै मकालु होटल चोक, भाजुरत्न चोकसहित जिल्लाका मूख्य सहायक मार्गमा पर्ने वस्तीलाई पनि पनि अर्को आदेश जारी नभएसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
दङ्गाग्रस्त क्षेत्रमासभा, जुलुस, भेला आदी गर्न नपाइने, अटेर गर्नेलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने, विना पक्राउ पूर्जी पक्राउ गर्न सकिने, नजरबन्दमा राख्न सकिने सुरक्षाकर्मीलाई अधिकार हुने र आवश्यक परे सेना परिचालन पनि गर्न सकिने भण्डारीले बताए ।
घाइतेहरुलाई काठमाडौं लगियो
प्रहरीको गोली लागि घाइते भएकाहरुलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौं लगिएको छ ।
काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई लगेको हो ।
सुरेश बिडारी, पर्सा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
