समाचारबुधबार, भाद्र १६, २०७२
आज वीरगञ्ज सुनसान, गाउँमा तोडफोड
हिजो चार जना आन्दोलनकारीको मृत्युसँगै दिनभर तनावग्रस्त रहेको वीरगञ्ज आज, १६ भदौमा सुनसान छ ।
वीरगञ्जलाई दङ्गा ग्रस्त क्षेत्र घोषणा गरेर सुरक्षाकर्मीले ‘कडा गस्ती’ गर्न थालेपछि जनजीवन केही सामान्य र सुनसान भएको हो ।
स्थानीयलाई कर्फ्यूका बेला घर बाहिर ननिस्कन प्रहरीले चेतावनी दिईरहँदा वीरगञ्ज र वरपरका मुख्य सडक पुरै सुनसान छन् भने भित्री गल्लीमा केही मानिसहरु आउजाउ गरेको देखिन्छ ।
यसैबीच पर्साको परवानीपुरमा लाठी जुलुश प्रदर्शन भएको छ । आन्दोलनकारीले राजमार्गमा विद्युत पोल तेर्स्याएर सडकमा अवरोध गरेका छन् ।
त्यसैगरी आज विहानै गण्डकमा तरकारी बोकेको ना ४ ख ९४८४ नम्बरको गाडीमा आन्दोलनकारीले आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीले वीरगञ्जमा अलपत्र १३० वटा सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
‘सेना परिचालन भएको छैन्’
वीरगञ्जमा १६ भदौ देखि सेना परिचालन भएको र गस्ती गरेको खबर केही सञ्चारमाध्यममा आए पनि अहिलेसम्म सेना परिचालन नभएको स्थानीय प्रशासनले जनाएको छ ।
“सेना परिचालन भएको छैन, सेनाले गस्ती पनि गरेको होइन,” सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
सेना नियमित व्यायाम (मर्निङ वाक) मा निक्लेकोलाई कसैले सेनाले गस्ती गरेको रुपमा बुझेको हुनसक्ने उनले बताए । भने, “सेना सडकमै निस्कन नपाउने हो र ? उसका नियमित कामहरु त भइरहन्छन् ।”
वीरगञ्जमा सेना परिचालन नभएको बरख गणका गणपति प्रमुख सेनानी सुरेश हमालले पनि पुष्टी गरे । यद्यपी अलपत्र सवारी साधनलाई गन्तव्यतर्फ पठाउँदा सेनाले स्कर्टिङ भने गरेको उनले प्रस्ट पारे ।
गाँउ गाँउमा प्रर्दशन
आज विहान आन्दोलनकारीले तिलावे पुल नजिकै चोकमा रहेको कांग्रेस पूर्व जिल्ला सभापति आत्मराम ओझाको शालिकमा तोडफोड गरेका छन् ।
कौवावन कटैया गाविसमा रहेको स्वास्थ्यचौकी, विद्यालय र गाविस कार्यालयमा लेखिएको ‘नेपाल सरकार’ हटाएर उनीहरुले ‘मधेश सरकार’ लेखेका छन् ।
स्थानीय अनुरोध पटेल र पूर्व गाविस अध्यक्ष सलिम अन्सरीको नेतृत्वमा रहेका आन्दोलनकारीले त्यहाँ टायर बालेर सडक समेत अवरुद्ध पारेका छन् ।
त्यस्तै पोखरीया नगरपालिका, देवरवना–२, मनवा बजार, हरपुरको बढेर्वामा पनि प्रदर्शन भइरहेको छ ।
संयमित हुन आग्रह
नेकपा एमाले पर्साका सभासदहरुले आन्दोलनरत पक्ष, प्रशासन र आमजनतालाई संयमित हुन आग्रह गरेका छन् ।
सभासदहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, बिचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु, जुनेद अन्सारीले संयुक्त विज्ञप्ती जारी गर्दै वार्ता एवं सम्वादबाट समस्या समाधान गर्न सकिने बताएका छन् ।
विज्ञप्तिमा वार्ताद्वारा समस्याको समाधान खोज्न र अनावश्यक बल प्रयोग नगर्न सरकारसँग पनि माग गरिएको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका ५ जना प्रति विज्ञप्तिमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
-सुरेश बिडारी, वीरगञ्ज