समाचारबुधबार, भाद्र १६, २०७२
असन्तुष्टसँग वार्ता गर्न कांग्रेस सभासदहरुको सुझाव
नेपाली कांग्रेसका सभासदहरुले असन्तुष्ट पक्षलाई वार्ताको माध्यमबाट समेट्दै संविधान निर्माण प्रक्रिया अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
संसदीय दलको बैठकमा सभासदहरुले मधेश केन्द्रित दलका नेतृत्व काठमाडौं आएकाले उनीहरुसँग वार्ता प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए । सभासद रामहरी खतिवडाले भने, “असन्तुष्टको माग वार्तामार्फत सम्बोधन गर्नुपर्छ, तर वार्ता विफल भएपनि संविधान निर्माण प्रक्रिया रोकिनुहुन्न ।”
संसदीय दलको बैठकमा मधेश र जनजातिको मागबारे सभासदहरुले फरक–फरक धारणा राखेका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले हिमालखबरसँग भने, “व्यक्तिगत धारणाबारे छलफल भइरहेको छ, अहिले दिउँसो ४ बजे बस्ने बैठकले यसलाई टुंग्याउँछ ।” बैठकमा सभासदहरुले धर्म, नागरिकता, थ्रेसहोल्ड, संवैधानिक पुनर्नियुक्तिलगायतमा संशोधन हुनुपर्ने धारणा राखेका थिए ।
सभासद खतिवडा भन्छन्, “प्रमुख सचेतक र पार्टीसँगको समन्वयमा मात्रै संशोधन दर्ता गराउने निर्णय भएकाले संसदीय दलको बैठकमा सभासदहरुलाई असन्तुष्टि राख्न दिइएको छ ।”
सभासद विमलेन्द्र निधिले निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्याको अनुपातमा हुनुपर्नेलगायत मधेशी समुदायको मागबारे असन्तुष्टि राखेका छन् । “सभासदहरुको असन्तुष्टिलाई कसरी अन्य पार्टीसँग वार्ता र सम्वादमार्फत संशोधनमा जाने भन्ने छलफल हुँदैछ”, प्रमुख सचेतक श्रेष्ठले भने ।