रमझमबुधबार, भाद्र १६, २०७२
न्यूयोर्कमा ट्राभलिङ किम्फ
अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ ट्राभलिङ किम्फ सकिएकाे छ ।
२९ अगस्टमा न्यूयोर्कस्थित शेर्पा किदुगको हलमा पहिलो पटक सकिएको महोत्सवमा देशी विदेशी दर्शकहरुको सहभागीता थियो । हिमाल एसोसिएसनले बर्षेनि गर्दै आएको किम्फलाई न्यूयोर्कमा एभरेस्ट टाइम्सले सहआयोजना गरेको हो ।
नेपाली जनजीवनलाई दुरुस्त देखाउने खालका डकुमेन्ट्री किम्फमार्फत न्यूयोर्कमा देखाउन पाएकोमा आयोजक एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिड शेर्पाले बताले खुशी ब्यक्त गरे । पहिलो पटक नै दर्शकको उत्साहजनक सहभागिताले किम्फलाई निरन्तरता दिन उत्साहित बनाएको उनले बताए ।
यसपालि न्यूयोर्क प्रदर्शनमा संकलित रकम भूकम्पले भत्केको सोलुखुम्बु केरुङस्थित चागेस्थान माध्यामिक विद्यालय निर्माणमा खर्च गरिने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाल चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले नेपाली वृतचित्र र छोटा फिल्महरुमार्फत नेपाली समाज, संस्कार र पर्यटनको प्रर्वद्धन गर्न महोत्सव सफल भएको बताए ।
चलचित्र विकास बोर्डले लामो समयदेखि नेपालमा किम्फलाई सहयोग गर्दै आएको बताउँदै उनले भने, “सरकारले गर्नुपर्ने काम हिमाल एशोसीएशनले गरिरहेको छ, बोर्डका तर्फबाट थप सहयोगका लागी पहल गर्नेछु ।”
न्युयोर्कस्थित महावाणिज्य दुतावासका कार्यवाहक नेपाली महावाणीज्य दुत नारायणप्रसाद मैनालीले लामो समयदेखि विदेशमा रहदै आएका नेपालीहरुले प्रर्दशन भएका फिल्महरुमार्फत आफ्नै गाउँघर र देश सम्झाएको बताए ।
आगामी वर्षदेखि न्यूयोर्कमा यो महोत्सव गर्न वाणिज्य दुतावासले समेत सहकार्य गर्ने उनले बताए । ग्लोवल फिल्म फेस्टीभल सनफ्रन्सीस्कोका टीम लिडर प्रकाश थापाले नेपाली जनजीवनलाई प्रवासका नेपाली माझ ल्याउन महोत्सव सफल भएको बताए ।
उनले महोत्सवमा प्रर्दशित फिल्म ‘सुनाकली’ हेरेर मुगुको बालिकाहरुको फुटबलका लागी खेलकुद सामाग्रीहरु सहयोग गर्ने घोषणा गरे । एभरेस्ट टाइम्सका सम्पादक निमा पाख्रीनले महोत्सव सोचे भन्दा राम्रो भएको बताउँदै आउँदा दिनमा दर्शक सहभाीता अझ बढने बताए ।
महोत्सवमा महावाणिज्य दुत मैनालीले सोलुखुम्बुको विद्यालयलाई २०० डलर र गैरआवासीय नेपाली संघ (एनआएन) क्यानडाका बोर्ड सदस्य सन्तराज भण्डारीले १०० डलर सहयोगको घोषण गरेका थिए । अन्तर्राष्ट्रिय ट्राभलिङ किम्फका संयोजक डम्बरकृष्ण श्रेष्ठले नेपाली तथा गैर नेपाली दर्शक, विभिन्न संस्थाका प्रतिनिधिहरु र पत्रकार साथीहरु साथै फिल्म निर्देशकहरुलाई महोत्सव सफल पार्न सहयोग गरेकोमा धन्यवाद दिए ।
नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको किम्फु गएको फेब्रुअरीमा हङकङ र मकाउबाट देशबाहिर समेत गर्न थालिएको हो । किम्फको मुख्य कार्यक्रम चाहिँ हरेक वर्ष डिसेम्बरमा काठमाडौंमा हुँदै आएको छ ।
न्यूयोर्क प्रदर्शनीमा यसपटक नेपाली पानोरमा अन्तर्गत उत्कृष्ट भएका भोजराज भाटद्वारा निर्देशीत ‘सुनाकली’, लक्छा बान्तवाको ‘पवनु’, सचिन घिमिरेको ‘पुन्टेको पांग्रो’ र दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ देखाइएको थियो ।
हङकङ र मकाउमा हरेक फेबु्रअरीमा हुने यो महोत्सव न्यूयोर्कमा अबदेखि अगस्त अन्तिममा हुनेछ । किम्फमा हरेक वर्ष ५५ र ६० मुलुकबाट ३०० भन्दा वढी फिल्म आउँछन् । ती मध्ये उत्कृष्ट फिल्महरूको प्रदर्शनी काठमाडौंको मूल कार्यक्रममा हुने गरेको छ ।
किम्फका अध्यक्ष बसन्त थापा फिल्म केवल मनोरञ्जनको साधन नभई यसबाट धेरै नौला ज्ञान, सूचना, विचार पाउन सकिने भएकाले देशभित्र र बाहिर धेरै भन्दा धेरैले हेरुन् भनेर ‘ट्राभलिङ किम्फ’ सुरु गरिएको बताउँछन् ।
उनका अनुसार विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपाली समुदायको माग र अनुरोध अनुसार थालिएको हो । थापाले भने, “देशबाहिरको हकमा हामी सुरूवाती दर्शकहरूको कस्तो सहभागिता रहन्छ, प्रदर्शनको बन्दोबस्त कस्तो हुन्छ, स्थानीय आयोजकको क्षमताका आधारमा आगमी दिनहरुमा फिल्मकर्मीहरलाई समेत सहभागी गराउने प्रयास गरिनेछ । न्यूयोर्कको सुरुवातबाट हामी सन्तुष्ट छौ ।”