थप समाचारबिहीबार, भाद्र १७, २०७२
तौलिहवामा थप ७ दिनका लागि निषेधित क्षेत्र घोषणा
कपिलवस्तुको सदरमुकाम तौलिहवालाई घोषणा गरिएको निषेधित क्षेत्र सात दिनका लागि थप गरिएको छ ।
जिल्ला सुरक्षा समितिको वैठकले जिल्ला प्रशासन कार्यालय चोक आसपासको २५० मीटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
निषेधित क्षेत्र भित्र धर्ना, जुलुश, भेला, बैठक, प्रदर्शन गर्न प्रतिवन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खांले बताए ।
कसैले अटेर गरे सुरक्षाकर्मीले गोली हान्न सक्ने आदेश भएको हुँदा निषेधित क्षेत्रभित्र कुनै त्यस्ता गतिविधी नगर्न स्थानीय प्रशासनले आग्रह समेत गरेकोे छ ।
तीन सातादेखि जारी मधेशी मोर्चाको आमहड्तालले समग्र जिल्लाको जनजीवन कष्टकर भएको छ ।
चितवन देखि कंचनपुरसम्मको क्षेत्रलाई थरुहट मधेश प्रदेश घोषणा गर्नु पर्ने माग गर्दै आदोलनमा उत्रिएका थरुहट संघर्ष समिति र मधेशी मोर्चाले दिनहुं जसो सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रहरुमा प्रदर्शन गर्दै आएका छन् ।
वन्दका कारण सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, मर्जादपुर लगायतका क्षेत्रहरु पुर्ण प्रभावित बनेका छन् ।
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाउंदै राजनैतिक दलका पार्टी कार्यालयहरु र सरकारी कार्यालयहरुमा सुरक्षा प्रदान गरेको छ ।
गोपाल भण्डारी, कपिलवस्तु