समाचारबिहीबार, भाद्र १७, २०७२

सशस्त्र प्रहरीलाई एसएसबीले शरण दियोः भारतीय सञ्चारमाध्यम, समाचार पूर्णरुपमा गलत होः सशस्त्र प्रहरी

हिमालखबर

बाराको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलका तीन दर्जनभन्दा बढी अधिकृत र जवानहरु भारतीय सुरक्षा निकायको शरणमा पुगेको भन्ने भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार पूर्णरुपमा गलत भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतीय खबरपत्रिका आउटलुक इण्डियाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा तराईमा जारी पछिल्लो आन्दोलनका क्रममा आन्दोलनकारीबाट लखेटिएपछि बाराको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सीमा क्षेत्रका रक्सौल, पिप्राकोटी र अन्य बोर्डर पोष्टमा सुरक्षा दिनुका साथै खाना र अन्य सुविधासमेत उपलब्ध गराएको दाबी गरिएको छ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको नेतृत्वमा भारतीय पक्षले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका अधिकृत र जवानहरुको गतिविधिलाई अनुगमन र सहजिकरण गरिरहेको पनि समाचारमा जनाइएको छ ।

एसएसबीका महानिर्देशक बीडी शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तसँग टेलिफोनमा कुरा गरी संकटको समयमा नेपाली प्रहरी अधिकारीहरुलाई राम्रो बन्दोवस्तसँग राखिएको बताएको पनि समाचारमा दाबी गरिएको छ ।

“नेपाल भारत सीमामा पर्ने विहारको पश्चिम चम्पारण जिल्लास्थित एसएसबीको सिक्टा बोर्डर पोष्टमा नेपालका १८ जना सशस्त्र प्रहरीलाई १५ भदौमा आतिथ्य प्रदान गरिएको अधिकारीहरुले बताए,” समाचारमा उल्लेख छ, “त्यसपछि थप अधिकारीहरुको समूहलाई एसएसबीका अन्य पोष्टहरुमा पनि शरण दिइएको थियो ।”

एसएसबी महानिर्देशक शर्मालाई उद्धृत गर्दै भनिएको छ, “हाम्रो काउण्टर पार्ट (सशस्त्र प्रहरी बल) लाई सक्दो सबै सहयोग गर्न फिल्ड कमाण्डरहरुलाई स्पष्ट निर्देशन दिएका छौं । हामीले बोर्डर क्रस गरेका छैनौं तर उनीहरुलाई सौहार्दपूर्ण तरिकामा रिसिभ गर्ने र आवश्यक परेमा सबै सहयोग गर्न तयार छौं ।”

नेपालमा हिंसा भड्किएपछि २९ देखि ३० जना नेपाल प्रहरीका जवानहरुले पनि एसएसबीमा शरण लिएको समाचारमा उल्लेख छ ।

१६ भदौमा पनि करिब ७० जनाको समूहले वीरगञ्ज रक्सौल सीमा क्षेत्रमा नेपाल प्रहरीका ६ जना जवानमाथि आक्रमण गरेपछि एसएसबीले सुरक्षा दिएर रक्सौलमा राखेको र साँझ सुरक्षा निगरानीमा वीरगञ्जस्थित प्रहरी कार्यालयमा पुर्‍याएको पनि समाचारमा दाबी गरिएको छ ।

‘झूठो समाचार’
सशस्त्र प्रहरी बलले उक्त समाचार पूर्ण रुपमा गलत भएको जनाएको छ ।

“समाचारमा उल्लेख भएको कुरा बिल्कुलै गलत हो, त्यस्तो भएकै छैन । हामी सुरक्षाका लागि अर्को मुलुकमा शरण लिन जाने कल्पना गर्न नसकिने कुरा हो,” सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुष्पराम केसीले हिमालखबरलाई भने ।

एसएसबी सशस्त्र प्रहरी बलको काउण्टर पार्ट भएकाले सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुबै संगठनका प्रमुखबीच कुराकानी हुनु स्वाभाविक भएको भन्दै उनले पछिल्लो आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन छलफल भए पनि भारतीय सञ्चारमाध्यममा भनिएजस्तो कुनै कुरा नभएको बताए ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी कमलसिंह बमले पनि यसबारेमा कुनै जानकारी नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>