Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'हाम्रो क्षमताभन्दा अपेक्षा धेरै छ' - Himalkhabar.com

अन्तर्वार्ता/विचारशनिबार, मंसिर २, २०६९

‘हाम्रो क्षमताभन्दा अपेक्षा धेरै छ’

हिमालखबर

विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपालीले उद्यमीको रुपमा सफलता कमाउने क्रम विस्तारिंदो छ। बढ्दो व्यावसायिक सफलतासँगै एक दशकदेखि संगठित भएका गैरआवासीय नेपालीबाट अहिले मुलुकको समृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानीको अपेक्षा हुन थालेको छ। गत वर्ष गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष चुनिएका जीवा लामिछाने दशैंको अवसर पारेर स्वदेश आएका बखत नेपालमा गरिने संभावित लगानी, एनआरएन गतिविधि तथा व्यक्तिगत जीवनका विभिन्न आयामबारे हिमाल ले गरेको लामो कुराकानीको सार संक्षेप।

धनी हुनुको मजा बताइदिनुस्न !

चितवनको सामान्य किसान परिवारमा जन्मेको र असीमित महत्वाकांक्षा पनि नभएको मानिस भएकोले धनीको रूपमा आफूलाई विशेष व्यक्ति ठान्दिनँ। फेरि धन मात्रै सबैथोक होइन। मलाई धनीका रूपमा भन्दा पनि आत्मीय मान्छेका रूपमा सम्मान गर्छन्। पैसाले नयाँ काम गर्न आत्मविश्वास जगाएको भने छ।

धनी हुनुका दुःख पनि हुँदा हुन्!

सामाजिक क्षेत्रमा पनि संलग्न भएकोले धेरै ठाउँबाट विभिन्न अपेक्षासहितका अनुरोधहरू आउँछन्, तर आफूसँग त्यस अनुसारको स्रोत नहुँदा असहज लागिरहन्छ।

विदेशमा नेपालीलाई सफल हुन कति गाह्रो हुँदोरहेछ?

इमानदारी, लगन र धैर्य भए जहाँ पनि सफल भइन्छ। सफलताको सूत्र नै मिहिनेत र इमानदारी हो।

विदेशमा नेपाली भएको कारणले अपहेलित हुनुपरेको छैन?

मान्छे जति धनी भए पनि उसको मातृभूमि समृद्ध नभएसम्म हेपिनु नै पर्छ। संसारभरका अध्यागमनमा नेपाली भन्ने बित्तिकै बढी सोधपुछ गरिन्छ। त्यसैले हामीले ‘समृद्ध नेपाल, साझा सपना’ भनेका हौं।

तपाईंहरू विदेशमा उद्यमशीलता हासिल गर्ने पहिलो पुस्ताका नेपाली, स्वदेशप्रति राम्रै मोह राख्नुहुन्छ। दोस्रोतेस्रो पुस्तामा पनि यो भावना रहला?

हामीले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भनेर नेपाली नागरिकताको निरन्तरताको माग यही भावना जोगाउन गरेका हौं। यसलाई संविधानले नै सम्बोधन गर्नुपर्ने भएकाले राजनीतिक नेता, सभासद् आदिसँग गम्भीर छलफल गर्‍यौं। सबै पक्ष सहमत भए पनि अन्त्यमा संविधान नै बनेन। तर मस्यौदामा हाम्रो माग राखिएको जानकारी पाएको छु। एनआरएनका सन्ततिलाई नेपालसँग कुनै न कुनै रूपमा जोडिराख्नुपर्छ। एनआरएन अभियान, विभिन्न देशमा सांस्कृतिक प्रदर्शनी, पर्यटन प्रवर्द्धन, नेपाल हाउस निर्माण आदि कुरा नयाँ पुस्तालाई नेपालसँग जोड्ने कसरत नै हो।

एनआरएनका यसअघिका घोषणा पूरा नभएको अवस्थामा तपाईं अध्यक्ष भएपछि फेरि रु.५ अर्ब लगानीको घोषणा भएको छ।

कतिपय सन्दर्भमा हामी अलि बढी महत्वाकांक्षी भयौं होला। शुरूमै १० करोड डलरको ‘म्युचुअल फण्ड’ घोषणा गर्‍यौं, तर यसको कानूनी जटिलता पछि मात्र थाहा भयो। तर पनि, धेरैजसो प्रतिबद्धता पूरा भएकै छन्। अहिले एक महीनाअघि स्थापित एनआरएन इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानीको तयारी हुँदैछ। यसबाट शुरूमा जलविद्युत्मा लगानी गर्छौं, एक–डेढ महीनाभित्रै एउटा आयोजना घोषणा गर्नेछौं।

अति राजनीतिले एनआरएन अभियान पनि शिथिल भएको छ, हैन?

एनआरएनहरू नेपालको राजनीतिबाट टाढा हुँदैनन्। विदेशमा बसेर पनि स्वदेशका विभिन्न राजनीतिक दलका संगठनहरू चलाउँछन्। तर, गैरआवासीय नेपाली संघ भने बौद्धिक, व्यावसायिक र पूर्व गोर्खा सैनिकदेखि वैदेशिक रोजगारमा गएका र विद्यार्थीसम्मको साझा संगठन भएकोले तटस्थ छ। संगठनलाई पार्टीगत राजनीतिबाट मुक्त राख्न सबै सहमत छन्।

तपाईंहरूमाथि प्रायः दशैंको आसपास नेपाल आएर लगानीको गफ मात्र गर्ने आरोप लाग्दै आएको छ नि!

विदेशका नेपालीहरूलाई देश फर्कने उपयुक्त अवसर दशैं नै हो। प्रष्ट हुनुपर्ने कुरा के हो भने, पहिलो पुस्ताको नेपाली ‘डायस्पोरा’ सँग स्रोतसाधन सीमित छ; विदेशका नेपालीहरू त्यहाँ आफ्नै संघर्षमा पहिचान बनाइरहेका छन्। देशका लागि केही गर्ने भावना अवश्य छ, तर कायापलट गर्ने हैसियत बनिसकेको छैन। उनीहरूबाट क्षमता भन्दा अलि बढी अपेक्षा भएको हो कि भन्ने अनुभव हामीले गरेका छौं। कतिपय साथीहरू पनि जन्मभूमि आउँदा मिडियासँग अलि धेरै उत्साहित भएका हुनसक्छन्।

व्यक्तिगत बाहेक संगठित र सामूहिक लगानी किन भएन?

व्यावसायिक लगानी व्यक्तिगत रूपमै प्रभावकारी हुन्छ। लगानी गर्न मुख्यतः स्रोत विश्वस्त हुनुपर्छ। यसका लागि एनआरएनले ‘ग्लोबल नेटवर्किङ’ को काम गरिरहेको छ, लगानीको सम्भावनाका विषयमा सूचना दिइरहेको छ। सामाजिक क्षेत्रमा पनि हामीले केही महत्वपूर्ण काम गरेका छौं। लगानीको अपेक्षा ठूलो भएकाले एनआरएनको स–सानो रकम एकीकृत गर्न इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका हौं। अनुत्पादक क्षेत्रमा गइरहेको भनिएको रेमिट्यान्स समेत यो कम्पनीमार्फत पूँजीमा परिणत हुने अपेक्षा छ।

गैरआवासीय नेपालीहरूले सुविधा मात्र बढी चाहेको भन्ने आरोप पनि लाग्ने गर्छ नि!

एनआरएनको लगानीलाई विशेष व्यवस्था होइन, वैदेशिक लगानीसरह व्यवहार गरियोस् मात्र भनेका छौं। एनआरएन लगानीकर्ताले आर्जित नाफा र आवश्यक पर्दा लगानी नै फिर्ता लैजान वा संसारका अन्य देशमा लगानी गर्न पाउनुपर्छ भनेका हौं। गैरआवासीय नेपाली ऐन २०६४ ले यसलाई स्वीकारेको

पनि छ।

तपाईंहरूले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी पनि भित्र्याउन पहल गर्नुभएन पनि भन्छन् नि!

लगानीकर्ताहरू राजनीतिक स्थिरता र मजदूर समस्या नभएको ठाउँ खोज्छन्। हामीले रसियाका ठूला लगानीकर्ता समूहलाई नेपाल भ्रमण गरायौं। उनीहरूले अध्ययन गरेर लगानीका थुप्रै क्षेत्र पहिचान गरे, तर राजनीतिक अस्थिरता र मजदूर समस्याका कारण आँट गरेनन्। अहिले त देशभित्रै पनि राजनीतिक अस्थिरता र ट्रेड युनियन समस्याले सबैलाई आजित बनाएको छ। यस्तो अवस्था अन्त्य गर्न राजनीतिक दलहरूले पहल र व्यवस्थापन गर्नुपर्छ।

नेपालको आर्थिक विकासबारे धेरै गफ भएको छ, अब के गर्नुपर्छ?

नेपालको सबैभन्दा ठूलो सम्भावना सेवा क्षेत्रमा छ। द्रुत विकास गरिरहेका हाम्रा दुई छिमेकी मुलुकका १० प्रतिशत जनतालाई मात्र सेवा दिने नयाँ काम शुरू गर्ने हो भने नेपालको कायापलट हुन्छ। एउटा मात्रै प्राकृतिक स्रोतको सदुपयोग गर्नसके पनि देश समृद्ध हुन्छ भन्ने उदाहरण खाडी मुलुक र भुटान हुन्। प्रकृतिले नेपाललाई समुद्र बाहेक सबथोक दिएको छ। राजनीतिक दलहरूले दृढ इच्छाशक्ति र तत्काल निर्णय क्षमता देखाउनुपर्‍यो।

यसमा एनआरएनले के गर्न सक्छ?

हामी आफैंले सबै काम गर्ने होइन, सरकारलाई घच्घच्याउने हो।

नेपालमा ऊर्जाको यत्रो अभाव हुँदा पनि गैरआवासीय नेपालीहरूले जलविद्युत्मा ठूलो लगानीको तदारुकता देखाएका छैनन् नि!

जलविद्युत्, एनआरएन इन्भेष्टमेन्ट कम्पनीको पहिलो प्राथमिकता हो। अहिले १०० मेगावाटको आयोजनामा रु.१७–१८ अर्ब लाग्छ। हाम्रो सम्भावना ३००–४०० मेगावाटको आयोजना हो, एकैपटक ठूलो आयोजना बनाउने सामर्थ्य हामीसँग छैन। एनआरएन लगानीको माई खोला आयोजना अन्तिम चरणमा छ, ४०० मेगावाटको माथिल्लो तमोर लगायत अन्य आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेका छौं।

फेरि अलिकति व्यक्तिगत कुरा, सरकारी छात्रवृत्तिमा पढ्न गएको मान्छे कसरी व्यवसायी बन्नुभयो?

सरकारी छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ पढ्न सन् १९८६ मा रसिया गएको थिएँ। त्यसको एक वर्षअघि सत्तामा आएका मिखाइल गोर्भाचोभले रसियामा ७० वर्षदेखि चलिरहेको एकात्मक शासन प्रणालीमा ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनर्संरचना) को नीति लिएका थिए। १९९१ मा मेरो औपचारिक अध्ययन सकिएसँगै रूस राज्य नियन्त्रित अर्थव्यवस्थाबाट खुल्ला बजार अर्थतन्त्रमा प्रवेश गर्‍योर मैले व्यवसायमा हात हालें। त्यसबेला रसियामा घरायसी विद्युतीय उपकरणहरूको अत्यधिक माग थियो। हामीले जापान, युरोप, अमेरिकाबाट सामान ल्याएर बजार लियौं, पछि उत्पादन पनि गर्‍यौं र रियलस्टेटमा लगानी गर्‍यौं।

तपाईं कति धनी हुनुहुन्छ?

म त्यति धेरै धनी छैन। व्यक्तिगत सम्पत्तिको हिसाबकिताब गरेर यत्ति छ भन्ने अवस्थामा पनि छैन। सानो पूँजीबाट शुरू गरेको व्यवसाय विविधीकरण र विस्तारपछि राम्रो भयो। सम्भावना र प्रस्ताव हेरेर जँचेको ठाउँमा लगानी गर्दै जाँदा व्यवसाय बढेको छ।

तपाईंका लेखरचना प्रकाशित भइरहन्छन्, साहित्यमा विशेष रुचि हो?

म एनआरएन अभियानको विश्वव्यापी नेटवर्कमा जोडिनुको एउटा कारण घुमघामप्रति रुचि पनि हो। सँगसँगै नियात्रा, उपन्यास, आत्मवृत्तान्त, अध्यात्म लगायतका साहित्य पढ्न मन पराउँछु। यात्रा अनुभव र भोगाइहरूलाई रचनाको रूपमा लिपिबद्ध पनि गर्छु।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>