थप समाचारशुक्रबार, भाद्र १८, २०७२
लिम्बुवानले गरेको बन्दको प्रभाव न्यून
झापामा पत्रकार कृष्ण हुमागाईंलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यकता रिहाईको माग गर्दै संङ्घीय लिम्बूवान पार्र्टीले आह्वान गरेको बन्दको झापमा सामान्य प्रभाव परेको छ ।
पत्रकार हुमागाईंलाई १५ भदौ दिँउसो झापाको बिर्तामोडमा मोटरसाइकलबाट उतारी कुटपिट गर्ने लिम्बुवान पार्र्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरललाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाएको छ ।
ढाड र टाउकोमा चोट लागेका घाइते पत्रकार हुमागाईको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
संङ्घीय लिम्बूवान पार्टीले पत्रकार हुमागाईलाई आक्रमण गर्ने कार्यकर्तालाई बिना शर्त रिहाइको माग गर्दै १८ भदौदेखि मेची कोशीका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेको छ ।
बन्दको झापाका विर्तामोड, धुलाबारी, काँकडभिट्टा, दमक र भद्रपुरका मुख्य बजारमा सामान्य प्रभाव परेको छ भने अन्य बजारमा प्रभाव छैन ।
मुख्य बजारहरुमा यातायातका साधन अरु बेला भन्दा कम चलेका छन् । बजारका भित्री भागका पसल खुलेका छन् । बिद्यालय र सरकारी कार्यालयहरु पनि खुलै छन् ।
त्यस्तै ताप्लेजुङमा बजार र शैक्षिक संस्था खुलै भए पनि त्यहाँबाट झापा आउने यातायाताका साधन चलेका छैनन् ।
पाँचथरमा बजार बन्द छ । इलाममा बन्दको प्रभाव नगण्य छ ।
गोपाल गडतौला, झापा