थप समाचारशनिबार, भाद्र १९, २०७२
लिम्बुवानले गरेको बन्द फिर्ता
कार्यकर्ता पक्राउको विरोधमा पूर्वका नौ जिल्ला अनिश्चतकालीन बन्द आह्वान गरेको संघीय लिम्बुवान पार्टीले बन्द फिर्ता लिएको छ ।
१५ भदौ दिउँसो झापाको बिर्तामोडमा पत्रकार कृष्ण हुमागार्इँलाई कुपपिट गरेपछि पक्राउ परेका पाँच जना कार्यकर्ता रिहाईको मागगर्दै हडतालमा उत्रिएको लिम्बुवान र नेपाल पत्रकार महासंघ झापाबीच चारबुँदे सहमति भएपछि बन्द फिर्ता भएको हो ।
१९ भदौमा बिर्तामोडमा भएको वार्तामा लिम्बुवानले पत्रकारमाथि भएको आक्रमणप्रति आत्मालोचना गर्दै त्यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता गरेपछि पक्राउ परेका लिम्बुवानका कार्यकर्ता रिहाईकालाई महासंघ झापाले पहल गर्ने सहमती भएको छ ।
त्यसै गरी राजनीतिक दल र पत्रकारहरुले आ–आफ्नो आचारसंहिता पालना गर्ने र सबै पक्ष आ–आफ्नौ मर्यादामा रहने समेत सहमति भएको छ ।
१५ भदौमा बिर्तामोडको मुक्ति चोकमा पत्रकार हुँमागाईलाई लिम्बुवानका कार्यकर्ताले कुटपीट गरी घाइते बनाएका थिए ।
उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
सहमतिमा पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य गणेश पोख्रेल, निवर्तमान केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, जिल्ला अध्यक्ष नेम्वाङ र लिम्बुवानको तर्फबाट केन्द्रीय महासचिव टेकबहादुर खजुम, जिल्ला अध्यक्ष धनबहादुर पङ्धाक लगायतले हस्ताक्षर गरेका छन् ।
गोपाल गडतौला, झापा