रमझममंगलबार, भाद्र २२, २०७२
परदेशमा देश सम्झाउँदै
“सात समुद्रपारि हामी छौं, अहिले हाम्रो देश अशान्त छ। आफूआफूमै लडिरहेका छौं, मारामार गरिरहेका छौं। आऊँ सबै मिलेर देशमा शान्तिको कामना गरौं।”
१२ भदौमा न्यूयोर्कको म्यानह्याटनस्थित कन्सर्टमा नेपथ्यका गायक अमृत गुरुङले यसो भनिरहँदा दर्शकले एकाएक देश सम्झिए। नेपथ्यका गीतहरूसँगै उनले ‘गाउँ गाउँबाट उठ’, ‘रातो र चन्द्र सूर्य’ जस्ता गीत गाउँदा दर्शकहरू नेपाली झ्ाण्डा हल्लाउँदै स्वरमा स्वर मिलाइरहेका हुन्थे।
गुरुङ भनिरहेका थिए, “हामीले ओत पाएका थुप्रै घरहरू अस्तिको भुईंचालोपछि बचेका छैनन्। त्यस्ता गाउँ जीवित पार्न हामी सबै ती स्थानहरूमा घुम्न जाऔं।” जता गए पनि नेपाली विभाजित भएको देखिरहेको बताउने उनले यसपटकको अमेरिकाको प्रदर्शनलाई ‘म्यूजिक फर युनिटी’ नाम दिइएको पनि बताए।
अष्ट्रेलिया, जापान, दुबई, बेलायतहुँदै अमेरिका आइपुगेको नेपथ्य टोलीले दुई घन्टासम्म संगीत र स्वदेश जोडेको थियो।
“आफ्नै घरमा हुर्केका नेपथ्य जस्तो प्रतिभालाई म्यानह्याटनमा सुन्नु भनेको गर्व, प्रेरणा र सुख तिनै कुरा एकसाथ अनुभूत गर्नु हो”, नेपथ्यलाई सुन्न आइपुगेका विश्वकै चर्चित फेसन डिजाइनर प्रबल गुरुङले भने।
अमृतसँगै ध्रुव लामा, सुरज थापा, सुविन शाक्य, निरज गुरुङ र शान्ति रायमाझी सहितको नेपथ्य टोलीको यसपटकको अमेरिका भ्रमणले ऊर्जा थपेको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
