थप समाचारबिहीबार, भाद्र २४, २०७२

नवनियुक्त प्रधान सेनापति क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान

हिमालखबर

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा २४ भदौमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई महारथीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

राष्ट्रपति यादव नेपाली सेनाका परमाधिपति पनि हुन् ।

उक्त अवसरमा प्रधानसेनापति क्षेत्रीले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ पनि लिए ।

मन्त्रिपरिषद्को गत २८ साउनको बैठकले उनलाई आजै ९२४ भदौ० देखि लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसैबीच, नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका रुपमा क्षेत्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गरेका छन् ।

यसअघि मुख्यालयमा उनको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

उनले गएको २६ साउनदेखि कायममुकायम प्रधानसेनापति भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तनहुँको चोक चिसापानी गाविसको दुधेकुनामा जन्मिएका क्षेत्री २०३५ सालमा नेपाली सेनाको सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।

प्रतिविद्रोह तथा जङ्गल युद्धकला, जुनियर स्टाफ, गुल्मपति, गणपति तालिममा समेत उनले उत्कृष्ट नतिजा हासिल गरेका थिए ।

नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने महारथी क्षेत्री पहिलो व्यक्ति हुन् ।

भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी, एयर डिफेन्स आर्टिलरी तथा पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्स, भारतको डिफेन्स इन्स्टिच्यूट अफ साइकोलोजिकल रिसर्चबाट अधिकृत तालिम पनि उनले हासिल गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट इतिहासमा तथा अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरेका क्षेत्रीले अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्ंबाट कमाण्ड र जनरल स्टाफ कलेज तथा अमेरिकी आर्मी वार कलेज कार्लाइकल पेन्सलभानियाबाट आर्मी कलेज पनि गरेका छन् ।

सैनिक सेवामा ३६ वर्षको अनुभव भएका प्रधानसेनापति क्षेत्रीले यसअघि सुरक्षा परिषद्ंमा विश्लेषकका रुपमा रणनीतिक तहको स्टाफ, प्रबन्धरथी, सैनिक विनय महानिर्देशक, बलाध्यक्ष र बलाधिकृतको कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।

पैदलयात्रा, भ्रमण र अध्ययन उनका रुचि हुन् ।

उनका पिता गोपालबहादुर क्षेत्रीले नेपाली सेनाको महासेनानीबाट अवकाश लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>