रमझमशुक्रबार, भाद्र २५, २०७२
ज्ञानका दीपक
शिक्षकले चाहे सामुदायिक विद्यालयलाई नै भरोसायोग्य बनाउन सकिन्छ भन्ने उदाहरण हुन्, बेनीका दीपक श्रेष्ठ (४३)।
२०५० सालमा शिक्षक सेवा आयोगमा नाम निकालेर म्याग्दीका विभिन्न विद्यालयमा अर्थशास्त्र र जनसंख्या विषय पढाएका दीपक श्रेष्ठले २०५४ सालमा बेनी सामुदायिक विद्यालय टेकेका थिए। त्यो वेला सक्नेजति सबैले छोराछोरी निजी विद्यालयमा पढाउँथे। बाँकीले पनि सामुदायिक विद्यालयलाई राम्रो ठान्दैनथे।
त्यसपछि बेनी नै घर भएका यी शिक्षकले सबैभन्दा पहिले विद्यालयप्रति अभिभावककै धारणा राम्रो बनाउनुपर्छ भन्नेमा जोड दिए। त्यसका लागि नियमित अन्तरसंवादका साथै भौतिक पूर्वाधार विकासमा समेत लागिपरे। “दिनको १५ घन्टासम्म खटिन्थें”, श्रेष्ठ भन्छन्, “कम्प्युटर कक्षा, अभिभावक भेला, बालमैत्री कक्षा जस्ता कार्यक्रम गर्न थालेपछि अभिभावकको विश्वास बढ्न थाल्यो।”
२०६७ मा श्रेष्ठ सोही विद्यालयको प्रधानाध्यापक बने। त्यसपछि उनले अर्को अठोट गरे– विद्यालयमा राजनीतिक गतिविधि रोक्ने। यसका लागि उनले विद्यार्थी संगठन, शिक्षक संगठन र राजनीतिक कार्यकर्तासँग जुध्नु पर्यो। “त्यो वेला म डगमगाएको भए विद्यालयले आजको दिन देख्न पाउने थिएन”, श्रेष्ठ भन्छन्।
अहिले म्याग्दीको यो उमाविबाट एसएलसीमा औसतमा ९९ विद्यार्थी उत्तीर्ण भइरहेका छन्। विद्यालयप्रतिको जनविश्वासका कारण विद्यार्थी संख्या पनि ९४९ जना पुगेको छ। श्रेष्ठसहित २८ जना शिक्षक छन्।
अभावबीच पनि श्रेष्ठको विद्यालयमा मल्टि–मिडियाबाट समेत अध्यापन गराइन्छ। “पाँच वर्षभित्रमा प्रत्येक कक्षामा स्मार्ट बोर्ड राख्ने लक्ष्य लिएको छु”, विद्यालय सञ्चालनको पञ्चवर्षीय योजना बनाएका श्रेष्ठको नयाँ अठोट छ। बेनीको यो प्रगतिको मूल्यांकन गर्दै शिक्षा मन्त्रालयले पनि २०७० सालको सर्वोत्कृष्ट सामुदायिक विद्यालय सम्मान प्रदान गरेको थियो।
आइतबार उनै श्रेष्ठलाई राष्ट्रपति रामवरण यादवले रु.५० हजार नगद र प्रमाणपत्रसहित ‘चौथो राष्ट्रिय पीपी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’ बाट सम्मानित गर्दैछन्। उनीसँगै श्री सेतीदेवी निम्न मावि (दोलखा) का कृष्णबहादुर खत्री, श्री उच्च मा.वि (दाङ) का रामहरि रिजाल र श्री महेन्द्र उमावि, (गुल्मी) का लक्ष्मी पन्थीलाई पनि क्षेत्रीयस्तरका उत्कृष्ट शिक्षकका रुपमा रु.२५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ।
“विद्यालयको गुणस्तर शिक्षकमा नै निर्भर हुन्छ”, पुरस्कार ग्रहण गर्न काठमाडौं आइपुगेका उनी भन्छन्, “यस्तो सम्मानले धेरै अठोट पूरा गर्ने जोश बढाएको छ।”
सजना बराल