समाचारशुक्रबार, भाद्र २५, २०७२
जगदम्बा उद्योगमा तोडफोड र लुटपाट
रुपन्देहीको लुम्बिनी करिडोरस्थित जगदम्बा स्पेनिङ मिलमा आन्दोलनकारीले तोडफोड र लुटपाट गरेको छ ।
२५ भदौ बिहान बाटो अबरुद्ध गरेर उनीहरुले दश वटा साधन, उद्योग र निवासमा तोडफोड गरेका थिए । उनीहरुले तीन जना कर्मचारीलाई कुटपिट गरी ३५ हजार नगद र समान समेत लुटेर लगेको रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बताए ।
तोडफोडबाट २ वटा ट्रक, २ वटा कार, एउटा पिकअप भ्यान, ५ वटा मोटर साईल र उद्योग परिसरको निवासमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुग्दा लुटपाट गर्नेहरु भागिसकेका थिए । तोडफोड र लुटपाट गर्नेहरु आन्दोलनकारीहरु भएको प्रहरीले बताएको छ । मधेशी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवले भने आफूलाई थाहा नभएको बताए ।
अघिल्लो दिन आन्दोलनकारीहरुले सोही ठाउ“कै अर्घाखांची सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, गोयन्का स्टिललगायतका उद्योगहरुमा तोडफोड गरेका थिए । अर्घाखा“ची सिमेन्ट उद्योग वाणिज्य उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाको हो ।
-दीपक ज्ञवाली