समाचारशुक्रबार, भाद्र २५, २०७२
एक हप्ताभित्र सम्झौता कार्यान्वयन नभए डा.केसी फेरि अनशन बस्ने
चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीसँग भएको सम्झौता एक हप्ताभित्र कार्यान्वय गर्ने प्रतिवद्धता सरकारले जनाएको छ ।
डा.केसीलाई पत्र पठाउँदै हप्तादिनभित्र सम्झौता कार्यान्वयनको चरणमा जाने सरकारले प्रतिवद्धता जनाएको हो । सरकारको प्रतिवद्धतापछि डा.केसीले तत्काललाई पुनःअनशन नबस्ने बताएका छन् ।
उनले प्रेस विज्ञप्ती जारी गर्दै हप्तादिनभित्र सम्झौता कार्यान्वयन नभए १ असोजबाट पुनःअनशन थाल्ने चेतावनी दिएका छन् ।
विज्ञप्तीको पूर्णपाठ
आदरणीय पत्रकार मित्रहरु,
देशको असहज परिस्थितिबीच संविधान निर्माण प्रक्रिया अघि बढिरहेको र राजनीतिक नेतृत्वको अहिलेको रवैया कायम रहने हो भने देश अझ ठूलो संकटमा पर्ने निश्चित भइसकेको छ । समय लगाएर समाजका सबै तह, वर्ग, क्षेत्र र सम्प्रदायका इच्छा र राय समेटेर अघि बढ्नुपर्ने संविधान निर्माणको प्रक्रिया केही नेताहरुको तजबीजका भरमा अघि बढ्दा जनतामुखी नभई नेतामुखी संविधान बन्न जाने देखिएको छ । त्यस्तो संविधानले देशमा भएका समस्यालाई सुल्झाउने नभई बल्झाउने लक्षणहरु देखिएका छन् ।
अर्कोतिर संविधानमा लेखिने कुराहरु व्यवहारमा उतारिएला भनेर विश्वास गर्न मुस्किल हुने अवस्था देखिइरहेको छ । राजनीतिक नेतृत्वको इमान्दारी र इच्छाशक्ति विना त्यो काम सम्भव पनि छैन । जबसम्म व्यवहारमा उतारिंदैन, तबसम्म संविधानमा लेखिने शब्दहरुको अर्थ पनि रहँदैन ।
स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि भनेर सरकारले बनाएको कार्यदलले नै तयार गरेको माथेमा प्रतिवेदन कार्यान्वयन लगायतका विभिन्न मागहरुमा सरकारले अघिल्लो हप्ता हामीसित सहमति गर्यो । तर त्यसको दुई दिन नबित्दै सहमति मन्त्रीपरिषद्बाट पारित गराउने समझदारी तोडेर सरकारले चरम गैर–जिम्मेवारीपन देखाएको छ । यो अवस्थामा थप कदम नचाल्ने हो भने यो क्षेत्रमा अहिलेसम्म भएका सुधारका प्रक्रियासमेत उल्टिने र विगतका आन्दोलनमा भएका उपलब्धि गुम्ने देखिन्छ ।
सरकारको त्यही चरम गैर–जिम्मेवारपन र बेइमानीका विरुद्ध पुनः कडा कदम चाल्नुपर्ने स्थिति सिर्जना भएको छ ।
यसैबीच आज नेपाल सरकारका तर्फबाट सम्झौता कार्यान्वयनमा गम्भीरताका साथ लाग्ने वचनबद्धतासहित एक पत्र प्राप्त भएको अवस्थामा सम्झौतालाई मन्त्रीमण्डलबाट पारित गरेर त्यसबमोजिम चिकित्सा शिक्षा आयोग बनाउन तथा मेडिकल शिक्षामा सिट र शुल्क लगायतका केही महत्वपूर्ण बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन सरकारलाई थप एक हप्ताको समय दिने जानकारी गराउन चाहन्छु । यही भाद्र ३१ गतेसम्म पनि ती कामहरु नभएको खण्डमा असोज १ गते शुक्रवारदेखि पुनः आमरण अनशनमा बस्ने पनि जानकारी गराउन चाहन्छु ।
साथै संविधान निर्माणको प्रक्रिया पनि सबै पक्षलाई समेटेर बढोस् भन्ने मेरो आग्रह छ । एक जनाको पनि मानव जीवन वास्तवमा अमूल्य छ र राज्यका लागि एउटा नागरिकको मृत्यू पनि बिझाउनुपर्ने हो । तर दर्जनौं नागरिकहरु मारिइसक्दा पनि केही नभए जस्तो गरेर संविधान निर्माण प्रक्रिया अघि बढाइरहने केही दलहरुको ढिपी र संवेदनविहीनताले देशलाई शान्ति र समृद्धितिर लैजाने महत्वपूर्ण अवसर हामीले गुमाउँदै गइरहेका छौं । प्रक्रिया रोकेरै भए पनि असन्तुष्ट पक्षहरुको आवाज सुन्न, तिनका सरोकार सम्बोधन गर्न र केही समय लगाएर भए पनि धेरैभन्दा धेरै नागरिकहरुलाई स्वीकार्य हुने संविधान ल्याउनुको विकल्प छैन ।
अन्तमा, राज्यलाई संविधान निर्माणको अहिलेको प्रक्रिया रोकेरै भए पनि असन्तुष्ट पक्षहरुलाई वार्ता र सहमतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा संविधान ल्याउने वातावरण बनाउन तथा आन्दोलनमा उत्रेका पक्षहरुलाई वार्तामा आएर समस्याको शान्तिपूर्ण निकास खोज्न पनि यसै विज्ञप्तिमार्फत् अपिल गर्दछु ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, काठमाडौं